ई–आर्थिक, काठमाडौं । पठाओ चलाउने चालक र चढ्ने यात्रुहरुको पनि बीमा हुने भएको छ । पठाओ नेपाल प्रालि, राइड शेयरिङ तथा फुड डेलिभरी एपले ग्राहक र चालकको एभरेष्ट इन्स्योरेन्समा बीमा गराएको जानकारी दिइएको छ ।
यसपछि राइडको दौरान कुनै पनि ग्राहक तथा चालकको दुर्घटनाका कारणले मृत्यु, अपांगता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमा रकम प्राप्त गर्न सकिने भएको छ ।
त्यस्तै कुनै पनि ग्राहक तथा चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने भएका छन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।
यो व्यवस्थाले चालक र ग्राहकलाई केही मात्रामा भएपनि राहत हुने विश्वास कम्पनीले लिएको छ ।