ई–आर्थिक, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारणसभा चन्द्रगिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिएको सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गर्ने जानकारी दिइएको छ ।
उक्त शेयरमा आवेदन दिने १२,५६,७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुने जनाएको कम्पनीले जनाएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।