काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ। शनिबार हुने महासङ्घको निर्वाचनका लागि शाहीको एकल उम्मेदवारी परेको हो।
मनोनयन दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म उनको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए। उद्योग वाणिज्य सङ्घ सुर्खेतका पूर्व तथा कर्णाली प्रदेश समितिका निवर्तमान अध्यक्षसमेत रहेका शाहीको एकल उम्मेदवारीले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुने पक्का भएको छ।
गएको कार्यकालमा अधूरा रहेका काम पूरा गरी कर्णालीको उद्योग, पर्यटन र निजी क्षेत्रको विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको उनले बताए। त्यस्तै एशोसिएटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एशोसिएटतर्फको सदस्यमा सीताराम कार्की र झविन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन्। एकल उम्मेदवारी परेका निर्वाचित भएको औपचारिक घोषणा शनिबार मात्र गरिने निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला)को उम्मेदवारी परेको छ। त्यसका साथै जिल्ला–नगरको पाँच सदस्यका लागि नाङ्गेल लामा (हुम्ला), नवीन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कृष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको जनाइएको छ।
निर्वाचन अधिकृत बस्तेका अनुसार निर्वाचनमा एशोसिएटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता छन्। जिल्ला–नगरतर्फको उपाध्यक्ष र सदस्यका लागि शनिबार निर्वाचन हुने निर्वाचन समितिले बताएको छ। रासस