ई–आर्थिक, काठमाडौं । आकस्मिकरुपमा नेपाल आएका भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र मानार्थ महारथीको पद्बी लिन आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेसँगको गोप्य भेट गरेको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीनको सीमा क्षेत्रको अबलोकनका लागि निस्कने भएका छन् ।
भारतले नेपालसँगको सीमा बिबादमा अर्को छिमेकी मुलक चीनलाई समेत तान्न खोजिरहको बेला प्रधानमनन्त्री ओलीको यो भ्रमणलाई निकै अर्थपूर्णढंगले हेरिएको छ । नेपालका पूर्ब, पश्चिम र दक्षिण सीमाहरुमा मात्र समस्या छैन, उत्तरी सीमामा पनि त्यतिकै समस्या भएको देखाउने प्रयत्न भइरहको बेला अहिले प्रधानमन्त्री ओलीले संखुवासभा जिल्लाको चीनसंग जोडीएको नाका किमाथांकाका साथै केही उत्तरी सीमा क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम बनाइएको छ । यस क्षेत्रमा पनि चीनले नेपालको भूमी अतिक्रमण गरेको प्रचार गरिएको छ ।
किमांथाङ्का चीनसँग जोडिएको बहुचर्चित नाका हो । यस नाकाबाट चीनसँग जोड्ने गरी सडक बिस्तार भइरहको छ । यो सडक दुई बर्षअघि नै सन्चालनमा आउनुपर्ने थियो । तर निर्माण कार्य अति सुस्त बनाइएको छ । यो नाकाबाट चीनले तीब्र गतिबिधि गर्न थालेको भारतको बुझाई छ । त्यसैले यो नाका सन्चालनमा नल्याउन भारतको दबाब छ । सन्चालनमा ल्याए पनि अत्यन्त सीमित आवागमन मात्र हुने गरी बनाउन भारतको दबाब छ ।
यही नाका हेर्न प्रधानमन्त्री ओली आगामी बुधबार त्यसतर्फ जाँदैछन् । ‘रअ’ प्रमुख र सेनाध्यक्षसँगको भेटलगत्तै उत्तरी नाकाको भ्रमणमा जाँदा शंका उपशंका उठ्ने भएकाले अरुण तेश्रो जलविद्युत आयोजना स्थललगायत केही स्थानको भ्रमण गर्ने कार्यक्रम बनाइएको छ ।
बाहिर अरुण तेस्रोको अवलोकन भ्रमणको प्रचार गरिएको छ । यसका लागि त्यस क्षेत्रका साँसद राजेन्द्र गौतमलाई कार्यक्रम तय गर्न लगाइएको स्रोत बताउँछ ।
पछिल्लो समयमा चीन र नेपालको सम्बन्ध भारतको तुलनामा बढी सुदृढ बनिरहेको छ । दुई देशमा सरकारी स्तरमा मात्र नभएर जनस्तरमा समेत सम्बन्ध प्रगाढ हुन थालेको छ । यसले भारतीय संस्थापन पक्षको निद हराम भएको छ । साउथ ब्लक जसरी भए पनि चीन र नेपालको सम्बन्धमा दरार ल्याउन चाहन्छ । यही सिलसिलामा नेपालका दर्जनौ उत्तरी सीमा चीनको अतिक्रमणमा परेको प्रचार हुन थालेको छ । यहाँका केही राजनीतिक दल र सन्चार माध्यमलाई उचालेर साउथ ब्लकले चीनसँग पनि नेपालका धेरै सीमा समस्या भएको प्रचार गरिरहेको छ । खासगरी भारतले नेपालको कालापानी क्षेत्रको ४६० बर्ग किलोमिटर क्षेत्रफल अतिक्रमण गरेपछि त्यसको चर्को बिरोधमा उत्रिएको नेपालको आक्रोसलाई अत्यन्त्र मोड्न उत्तरी सीमाको चर्चा ल्याइएको थियो ।
नेपालको ६४ हेक्टर जग्गा चीनले मिचेको प्रचार गरिएको छ । योमध्ये अहिले प्रधानमन्त्री ओली भ्रमण गर्न गएको संखुवासभा जिल्लामा ७ हेक्टर पर्दछ । उक्त जिल्लाको सुमजुँग खोलामा ३ हेक्टर, कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जग्गा चीनसँग सीमा समस्या भएको प्रचार गरिएको छ । तर यो चीनले अतिक्रमण गरेको नभई नदी वहाव परिवर्तनका कारण नेपालको भूभाग चीनतिर परेको सरकारी प्रतिबेदन छ । यही बिषयलाई भारतले उचालिरहेको छ । नदी बहाब परिबर्तन भए पनि चीनले नेपाललाई फिर्ता गर्नैपर्छ भन्दै केही भारतीय मिडियाहरुले यो बिषय धेरै पहिलेदेखि उचालिरहेका छन् । साउथ ब्लकको मूल ध्येय भनेको नेपाल र भारतबीच मात्र सीमा समस्या नभएर नेपाल र चीनबिच पनि सोही समस्या छन् भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नुको साथै यस समस्याका कारण नेपालमा भारतको मात्र बिरोध नहोस भन्ने रहेको छ ।
प्रधानमन्त्री ओलीको त्यस क्षेत्रको भ्रमण रअ प्रमुख गोयल र सेनाध्यक्ष नरबाणेको सुझाबअनुसार भएको बताइन्छ । प्रधानमन्त्री ओलीको उत्तरी सीमाको भ्रमणका बारेमा भारतीय मिडियाले प्रचार गर्ने तयारी हुन सक्ने पनि स्रोतको आशंका छ । यसले अन्तर्राष्ट्रिय स्तरमा केही भ्रम सिर्जना गर्न सक्ने स्रोतको भनाई छ । यो ओलीको भारतीय संस्थापनलाई खुसी बनाउने रणनीतिका रुपमा हेर्न सकिने स्रोतको दाबी छ ।
अहिले ओली सरकारले भारतप्रति नरम ब्यबहार गर्ने नीति अख्तियार गरेको छ । आन्तरिक अन्तरबिरोधले नेकपा बिभाजनको संघारमा पुगेपछि ओलीले भारतलाई साथमा लिन खोजेका हुन । भारतले साथ दिए आफै पार्टी बिभाजन गरेर प्रचण्ड–माधब समूहलाई किनारा लगाउने उनको योजना देखिन्छ । भारतले साथ दिए पार्टी बिभाजन गर्दा पनि सत्ता छोड्नु नपर्ने ओलीको बुझाई छ ।
पार्टीभित्रको अन्तरबिरोधले ओली संकटमा परेको र बाह्य सहयोगको अपेक्षामा रहेको भारतीय संस्थापनलाई राम्रोसँग जानकारी थियो ।
त्यसैले नेकपाभित्र चरम बिबाद भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दूतका रुपमा खुफिया एजेन्सी प्रमुख गोयललाई आकस्मिकरुपमा नेपाल पठाए । गोयलसँग प्रधानमन्त्री ओलीले आफ्नो राजकीय हैसियत नै बिर्सेर लामो भेटघाट गरेका थिए । गोयल कुनै राजकीय भ्रमणमा नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणबारे यहाँको परराष्ट्र मन्त्रालय, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग कसैलाई जानकारी थिएन । यहाँको कुनै सरकारी संयन्त्रलाई जानकारी नदिई आए पनि उनले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेर फर्किएका थिए ।
गोयल गएलगत्तै आएका भारतीय सेनाध्यक्ष नरवाणेसँग पनि ओलीले लामो छलफल गरेका थिए । उनलाई नेपाली सेनाको १८ औं मानार्थ महारथी पनि बनाइयो । भारतद्वारा अतिक्रमित भूमि लिपुलेकका बिषयमा नेपाललाई धम्की दिएका नरबणेलाई नेपालको मानार्थ महारथी नबनाउन जनस्तरबाट ब्यापक दबाब आए पनि सरकारले त्यसको बेवास्ता गर्दै मानार्थ प्रदान गरेको थियो ।