ई–आर्थिक, काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका थप उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय समेत रहेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालय पुगि ढकाल प्यानलका विभिन्न उद्योगी व्यवसायीहरुले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसरी उम्मेद्वारी दर्ता गर्नेहरुमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठ रहेका छन् ।
त्यसैगरी जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेद्वारी दर्ताको समयमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालसमेत पुगेका थिए । मनोनयन स्थलमा पुग्नुभएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताउनुभयो ।
सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्ने बताउँदै उहाँले देश विदेशमा रहेका लाखौं नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताए ।
यसअघि ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा बाँकी उम्मेदवारी केहीदिनभित्रै उम्मेदवारी गर्दा गराउने पनि उपाध्यक्षका उम्मेदवार ढकालले जानकारी दिनुभयो ।

गत चैत्रमै हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारण स्थगित भएको थियो । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने ब्यवस्था छ। सोहि व्यवस्था अनुसार वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा भने ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानले पनि बरिष्ठ उपाध्यक्षमा केही दिन अघि मनोनयन दर्ता गरिसकेका छन् ।