ई–आर्थिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने भएका छन् । दशैं भत्ता फिर्ता गर्न काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई निर्देशन पनि दिएका छन् ।
सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज निर्देशन दिएका हुन् ।
काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए ।
उनले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।