बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय
ई–आर्थिक, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा सार्ने निर्णयमा नेकपा नेकपासम्बद्ध रूपन्देहीका उद्योगी–व्यवसायीले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । आज मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै २ हजार २ सय ४९ उद्योगी–व्यवसायीले नेकपाको सदस्यता त्यागेको घोषणा गरेका हुन् ।
यसरी पार्टी परित्याग गर्नेहरुमा नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू रहेका छन् । कार्यक्रममा अगुवाहरु मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरेलगायतले राजधानी सार्ने निर्णयको विरोध गर्दै पार्टी परित्याग गर्ने घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही ब्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरालगायतले बोलेका थिए ।
स्थानीय राजनीतिक दलहरु समेत उद्योगी एवं व्यावसायिक सञ्जालले राजधानी रुपन्देही नै हुनुपर्ने माग राखी लगातार विरोधमा उत्रिरहेका छन् ।
उद्योगी एवं व्यावसायिक सञ्जालमा यहाँका उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यापार संघ, रूपन्देही उद्योग–व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ६० वटा संघसंस्था छन् ।
व्यवसायीहरूले प्रदेश सरकारका कुनै पनि कार्यक्रममा भाग नलिने र आफ्ना कुनै पनि कार्यक्रममा प्रदेश सांसदलाई नबोलाउने निर्णयसमेत गरिसकेका छन् । संघसंस्थाहरूको सञ्जाल रूपन्देहीका अध्यक्ष यमलाल लोहनीले पार्टी त्याग्नेहरूको सूची नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।
यसैबीच प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । त्यस्तै बैठकले रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई सांस्कृतिक–पर्यटकीय राजधानी बनाइने पनि निर्णय गरेका छन् ।