ई-आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंकले न्यूनतम ब्याजदरमा शेयर धितो राखी कर्जा प्रवाह गर्न नयाँ योजना सार्वजनिक गरेको छ। शेयरलाई धितोमा राखेर ७.७५ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने उद्देश्यले ‘लोन अगेन्स्ट शेयर’ योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।
ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ ।
सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ ।
बैकले देशभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।