ई–आर्थिक, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई कारबाही गरेको छ । विभागले तोकेको गुणस्तरअनुरुप उत्पादन नगर्ने यी दुई उद्योगलाई बजार अनुगमनका क्रममा कारवाही गरेको हो ।
विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ ।
जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको बताएको छ ।
त्यसैगरी मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टील्सको बिक्रीवितरणमा रोक लगाउनुका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ ।
विभागले तोकेको गुणस्तरअनुसार उत्पादन नगर्ने उद्योग र उत्पादनलाई कारवाही गर्दै आएको छ । यसअघि पनि अनुगमन र प्रयोगशालामा गरिएको परीक्षणमा थुप्रै उद्योगलाई कारवाही गरिसकिएको छ ।