तलब खुवाउने पैसै नभएर सरकारले नै जालझेल गरेको हो की भन्ने आशंका कर्मचारीहरुले गर्न थालेका छन् ।
ई–आर्थिक, काठमाडौं । महिना मरेको लामो समय वितिसक्दा पनि सफ्टवेयरको कारण देखाउँदै सरकार मातहतका कर्मचारीलाई तलब खुवाइएको छैन् । नेपाल सरकारको आधिकारिक विनियोजन सिष्टम कम्प्युटर गभर्मेन्ट अकाउन्टिङ् सिस्टम (सिग्यास) अपग्रेडको बहानामा समयमा तलब नदिएपछि सरकारी मातहतका कर्मचारीमा अहिले ठूलो छटपटाहट सुरु भएको छ ।
सेवा सुविधा अधावधिक गर्ने भन्दै महालेखा नियन्त्रकको कार्यालय (मेलेनिका) ले सिग्या सफ्टवेयर अपग्रेड गरी सिग्यास प्लसलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ ।
गएको साउन १ गतेदेखि सञ्चालनमा ल्याइसक्नु पर्ने उक्त सफ्टवेयर सञ्चालनमा नआउँदा तलब वितरणमा ढिलाई भइरहेको बताइएको छ । तर लामो समयदेखि उक्त सफ्टवेयर प्रयोगमा ल्याइने प्रयास भए पनि पूर्ण प्रयोगमा आउन सकेको छन् । जसको मार सरकारी तलब खाने कर्मचारीहरु परिरहेका छन् ।
सिग्यास सफ्टवेयरमा ठूलो चलखेल भइरहेको आशंका गर्न थालिएको छ । उक्त सफ्टवेयर सञ्चालनमा आउनु अघि त्यसको सबै प्राविधिक पक्षको अवस्था हेरेर मात्रै प्रयोगमा ल्याइनु पथ्र्यो । तर त्यसो नगरी हचुवाको भरमा सिग्यास प्लस सफ्टवेयरलाई सञ्चालनमा ल्याइने प्रयास भएको स्रोतले दाबी गरेको छ ।
सुरुवात गर्नुअघि यसको प्राविधिक पक्षको वारेमा कुनै तालिम समेत नदिइएको सरकारी मातहतका लेखा शाखामा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
सरकारी कर्मचारीले हरेक महिनाको २० देखि २५ गतेसम्म तलब खाइसकेका विगतको अभिलेख छ । यसरी हेर्दा अर्को महिनाको तलब समेत खाने समय आउने बेला भइसक्यो । साउनको २० गतेको हाराहारीमा खुवाइसक्नुपर्ने तलब भदौ ११ वितिसक्दा समेत नखुवाएपछि सरकारी तलब खान कर्मचारीहरुले अनेक शंका आशंका व्यक्त गर्न थालेका छन् ।
सयौं कर्मचारीहरुलाई तलब खुवाउनु पर्ने एक कार्यालयका लेखा शाखाका ती कर्मचारी अन्य कमचारीहरुको फोन फर्काउदा हैरान हुने गरेका छन् । तलब कहिले आउँछ भन्ने प्रश्नको ‘आज भोली आउला’ भन्ने जवाफ दिंदा–दिंदा आफूलाई समेत कर्मचारीहरुले विश्वास गर्न छाडेको उनको भनाई छ ।
केही कर्मचारीले त सफ्टवेयरको वहानामा तलब खुवाउने पैसै नभएर सरकारले नै जालझेल गरिरहेको हो की भन्ने आशंका व्यक्त गर्न थालेका छन् । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले समेत बोलेको तथ्यांक अनुसार खातामा पैसा नभए पछि खैलाबैला मच्चिएको प्रंसग समेत अहिले कर्मचारीवृतमा चल्न थालेकोे छ ।
विना तयारी प्रयोगमा ल्याइएको उक्त सिष्टमले कहिलेसम्म काम गर्ला भन्ने विषयमा मलेनिका आफैं अन्यौलमा परिरहेको सोही कार्यलय स्रोत बताउँछन । पूर्वतयारी विनै ल्याइएको यो सिष्टमको प्रमाणले सरकार हचुवा र हावाको भरमा चलेको रहेछ भन्ने आरोप समेत एक कर्मचारीले लगाए ।
‘अन्य स्रोत नभएका कर्मचारीलाई समयमा तलब नआउँदा साह्रै मुस्किल हुने रहेछ ।’ –एक कर्मचारीले भने– ‘लेनदेन भएको ठाउँमा ढाट्दा–ढाट्दा बेजमानी समेत हुन थालियो ।’
कोरोना संक्रमणको समयमा खटिएका कर्मचारीहरुलाई घोषणा गरिएको सुविधा समेत नदिएको एक प्रहरीले गुनासो गरे ।