२०८३ साउन ९ शनिबार

निषेधाज्ञामा बैंकिङ सेवा आधारभूत मात्रै

ई आर्थिक    बिहिबार, भाद्र ४ २०७७
5.6K
Shares
निषेधाज्ञामा बैंकिङ सेवा आधारभूत मात्रै

काठमाडौँ  : सरकारले गरेको उपत्यका निषेधाज्ञाका समयमा पनि आधारभूत (नगद जम्मा/भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ आदि) सेवा सञ्चालन हुने भएका छन् । यसका लागि बुधबार राष्ट्र बैंकले सूचना जारी गरी आधारभूत सेवा निरन्तर राख्न निर्देशन दिएको छ ।

‘निषेधाज्ञालगायत विशेष आदेशको पालना गरी बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा निरन्तरता दिन स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्ड कायमै रहने गरी आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न/गराउन अनुरोध गरिन्छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विद्युतीय कारोबार सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले भनेको छ । ‘एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउने,’ विज्ञप्तिमा उल्लेख छ, ‘अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउने ।’ कोरोना संक्रमण तथा जोखिमका आधारमा स्थानीय प्रशासनले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेका छन् ।

ती निर्देशनका आधारमा उक्त क्षेत्रमा सञ्चालित बैंक तथा वित्तीय संस्था केही बन्द भएका छन् भने केही आंशिक रूपमा खुलेका छन् । ती निर्देशनलाई पूर्ण रूपमा पालना गर्न पनि राष्ट्र बैंकले भनेको छ । ‘सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो लगाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबार सुचारु गर्ने व्यवस्था मिलाउने,’ विज्ञप्तिमा भनिएको छ । खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर संस्थाको वेबसाइटमा उल्लेख गर्नुका साथै बन्द रहने शाखाको मूल ढोकामा सो दिन खुल्ने वैकल्पिक शाखाको विवरण राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सेयर बजार बन्द नहुने

निषेधाज्ञाको समयमा पनि सेयर बजार खुला रहने भएको छ । न्यूनतम कर्मचारीबाट सम्भव भएसम्म घरबाटै सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । ‘नेप्सेमा एक/दुई जना कर्मचारी भए पुग्छ भनेका छन्,’ उनले भने, ‘ब्रोकर कार्यालयहरूले पनि घरैबाट सेवा दिन सक्छन्, मर्चेन्ट बैंकरहरूमा पनि एक/दुई जना कर्मचारीबाट सेवा दिन भनेका छौं  ।’

सामान्य अवस्थामा जस्तै निषेधाज्ञाका बेला पनि दैनिक चार घण्टा नै सेयर कारोबार हुने उनले जानकारी दिए । अनलाइनबाटै कारोबार हुने र लगानीकर्ताले पनि घरबाटै सेयर कारोबार गर्न सक्ने भएकाले अप्ठ्यारो नहुने उनले बताए ।

बिमामा पनि आधारभूत सेवा

निषेधाज्ञाको समयमा बिमा कम्पनीहरूले पनि आधारभूत सेवा प्रदान गर्ने भएका छन् । संक्रमण उच्च देखिएकाले सजग र सुरक्षित किसिमले आधारभूत सेवा सञ्चालन गर्न बिमा समितिले निर्देशन दिएको छ ।

‘सेवा सञ्चालनका क्रममा संक्रमणको जोखिम सुरक्षार्थ आवश्यक सम्पूर्ण आधारभूत स्वास्थ्य सामग्री कार्यस्थलमा अनिवार्य उपलब्ध हुने व्यवस्था मिलाउने,’ निर्देशनमा भनिएको छ, ‘कर्मचारीमा संक्रमण देखिए निजको सम्पर्कमा रहेका कर्मचारीलाई समेत सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने गरी पीसीआर परीक्षण गर्ने ।’ सम्भव भएसम्म घरबाटै काम गर्ने (वर्क फर्म होम) व्यवस्था मिलाउन पनि समितिले भनेको छ । कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij