ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जनकपुरधामका पूर्व नगर प्रमुख कृष्ण गिरीसहित दुईको मृत्यु भएको छ । पूर्व नगरप्रमुख गिरीको ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत रहेकै अवस्थामा राति १२ बजेर १० मिनेटमा निधन भएको हो ।
गिरी जनकपुरधामस्थित होटेल रामाका सञ्चालक समेत रहेका थिए । ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निबासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
उनको शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गरिरहेको बुझिएको छ । उपचारकै क्रममा उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ । गिरीका श्रीमति र दुई छोरा छन् । बिक्रम सम्वन् २०४४÷४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उनी पञ्चायतकालका अन्तिम मेयर रहेका थिए ।
पारिवारिसक स्रोतका अनुसार अष्ट्रेलिया र बेलायतमा रहनुभएका गिरीका दुबै छोरा एक साता अघि मात्रै नेपाल आइसकेका छन् । बि.सं. २००५ साल साउन २७ गते जन्मिनुभएका गिरीको ७२ वर्ष पुरा भएकै दिन संयोकको निधन भएको थियो ।
त्यसैगरी जनकपुरधामका एक ३८ बर्षिय महिलाका पाटक अस्पतालमा मृत्यु भएको छ । गत साउन १८ गते भर्ना भएकी ती महिलाको पनि २७ गते राखी १ बजे निधन भएको थियो ।
पाटन अस्पतालका अनुसार ‘मिनिग्रो इन्सेफलाइटिस’बाट पीडित महिलाको आईसीयूमा उपचारकै क्रममा निधन भएको हो । अस्पताल भर्ना गर्ने क्रममा परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच बुटवलको कोरोना अस्पतालमा दुई जनाको निधन भएको छ । निधन भएका दुई मध्ये एकमा कोरोनाको संक्रमण देखिएको छ । अर्का भने कोरोनाका शंकास्पद संक्रमित ब्यक्ति हुन ।
मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षे पुरुष हुन । कोरोना भाइरसका संक्रमित उनलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याए लगत्तै आसीयुबाट भेन्टीलेटरमा सारिएकोे थियो । उनको २८ गते बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अर्का मृतक कपिलवस्तुको कृष्णनगर नगरपालिका १३ का २२ वर्षे युवा हुन् । उनलाई साउन २७ गते अस्पताल ल्याइएको थियो । गम्भीर अवस्था देखिएपछि उनलाई आइसीयु हुँदै सोही दिन भेन्टीलेटरमा राखिएको थियो । उनीहरु भारतबाट आएका व्यक्ति हुन । २८ गते बिहान ३ बजे मृत्यु भएको उनको नतिजा भने आउन बाँकी रहेको अस्पतालल जनाएको छ ।