ई-आर्थिक, काठमाडौं। काठमाडौंको गोंगबुमा आइतबार भएको हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न चितवन घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
हत्याको आरोप लागेकी पौडेल र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौँ ल्याइ प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको हो । प्रहरीले बोहराको हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरेको छ ।
शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पछि कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको कल्पनाले बयान दिएकी छिन् । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको खुल्न आएको पनि महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
ती महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखाले जानाएको छ । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।
ती महिला विगत दुई वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेश्रो तल्लामा एक छोरी र एक छोरासँग बस्दै आएको र ती महिलाका श्रीमान् भने खाडी मुुलुकमा रहेको खुलासा भएको छ ।
हत्यापछि शवलाई टुक्रा पारेर सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिको झोलामा राखेर फालिएको थियो । शव व्यवस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिएर चितवन पुगेका थिए ।