ई–आर्थिक, काठमाडौं : नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । ६९ वर्षिय खड्काको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पूर्वरथी खड्कालाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ सालमा प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गर्दै निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए । तत्कालिन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्विकार गर्दै तत्कालीन राष्ट्रपति रामवरण यादवले त्यही रात कट्वाललाई नै प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।
मन्त्रिपरिषदले सेनापति नियुक्ति गरेको औपचारिक पत्र दिएपछि पनि कुनै दुर्घटना नहोस् भनेर उनले संयमित रुपमा प्रस्तुत गरेका थिए । प्रचण्डले सोही प्रकरणपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । यसरी राजीनामा दिने प्रचण्ड नेपालको इतिहासमा पहिलो प्रधानमन्त्री समेत थिए ।