सार्वजनिक यातायातको जोर–बिजोर हटाइने
ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका डरका कारण गरिएको लकडाउन अझै खुकुलो हुँने भएको छ । आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने र सार्वजानिक यातायातका सवारीमा जोर विजोर प्रणाली हटाउन मन्त्रीपरिषद्को निर्णयसँगै लकडाउन केही खुकुलो बनाउने तयारी भएको हो ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बैठक उडान र यातायातमा केही लचकता देखिएपनि तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णयमा पुगेको छ । सो बैठकले कोरोनाको सङ्क्रमण अझै कायमै रहेकाले विद्यालय र क्याम्पस नखोल्ने निर्णयमा पुगेको हो । कोरोनाको त्रास सामान्य बनेपछि मात्रै पठनपाठन खुला गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकमा लामोदुरीका सार्वजनिक यातायातको साधन पनि खोल्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । हाल रहेको जोरविजोर प्रणाली खारेजी गरी सार्वजानिक यातायातका सबै नम्बरका साधन चलाउने निर्णय समेत भएको हो ।
बैठकले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरो र डुबानको समस्या समाधानका लागि तत्काल सबै संयन्त्र परिचालन गर्ने निर्णय पनि गरेको छ ।
प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र थप क्षति हुन नदिनेतर्फ सबै सचेतता अपनाउने निर्णय बैठकले गरेको समाचार स्रोतले उल्लेख गरेको छ ।