ई–आर्थिक, काठमाडौं : काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमण बढ्दै गएको छ । नेपालका अन्य जिल्लामा संक्रमित कम हुँदै गए पनि काठमाडौं उपत्यकामा भने बढिरहेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म संक्रमितको संख्या ३४७ पुगिसकेको छ ।
उपत्यकामा संक्रमित बढ्दै गएपछि सरकारी अधिकारीहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यकामा संक्रमण बढ्दा चिन्ता बढेको भन्दै चिन्ता व्यक्त गरे । समुदायमा संक्रमण हो कि होइन भन्ने एकीन गर्न लागि परेको डा. पाण्डेले जानकारी दिए ।
कार्यक्रममा उनले भने– ‘हामीलाई चिन्ताको विषय बाहिर जिल्लामा संक्रमण कम भएको तर काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । भेटिएका संक्रमित मध्ये बाहिरबाट उद्धार गरी ल्याएका बढी छन् भने कहीँ पनि यात्रा नगरेका व्यक्तिमा पनि संक्रमण देखिएको छ,’ उनले भने, ‘समुदायमा संक्रमण एकीन गर्न परीक्षणको दायरा बढाउनै पर्छ ।’ परिक्षणको दायरा बढाउन सुरु गरिसकेका पनि उनले जानकारी दिए ।
उपत्यकाका ललितपुरको नखुटोल, भक्तपुर बोडे, काठमाडौं कोटेश्वर, सहिद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका शंखमुल, कपन, एयरपोर्ट, डिल्लीबजार लगायत ठाउँमा ३ हजार नमुना संकलन गरी परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको निर्देशक पाण्डेले जानकारी दिए । उनका अनुसार संक्रमितहरू कहिँ नगएकोले उनीहरूको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
पीसीआर विधिबाट परीक्षणलाई व्यापक बनाउने भन्दै डा. पाण्डेले दोस्रो चरणमा ४५ हजार नमुना लिने योजना रहेको बताए । त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार जनाको स्याब लिइने छ । नमुना संकलन विशेष गरी भीडभाड हुने बैंक, कर कार्यालय, जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरिएको उनको भनाई छ ।
काठमाडौंमा संक्रमित बढेसँगै केही सतर्कता अपनाउन थालिएको छ । लकडाउन खुकुलो भएपनि चहल पहल केही कम देखिन थालेको छ । तर यो सतर्कता भने पर्याप्त नभएको चिकित्सकहरुले बताइरहेका छन् ।