ई–आर्थिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित हिमालय क्षेत्रमा भएको चिनियाँ सैनिकसँगको लडाईँमा कम्तीमा २० सैनिकको बलिदान त्यसै खेर नजाने बताएका छन् । ‘चिनियाँहरूसँग लड्दै हाम्रा सैनिकहरूले सहादत प्राप्त गरेकोमा भारतले गर्व’ गर्ने मोदीले बताएका छन् ।
‘हामीले सधैँ मतभेद विवाद नबनोस् भनेर प्रयास गर्यौँ । हामी कहिल्यै पनि कसैलाई उक्साउँदैनौँ । तर हामी आफ्नो देशको अखण्डता र सम्प्रभुतासँग सम्झौता पनि गर्न सक्दैनौँ । समय आएको बेला हामीले देशको अखण्डता र सम्प्रभुता रक्षा गर्नका लागि आफ्नो शक्तिको प्रदर्शन गरेका छौँ ।’ मोदीले भने ।
काँटी सहितका डन्डा, ब्याट तथा लाठ्ठीको प्रयोग सैनिकहरूले उक्त झडपमा गरेका विवरण आएका छन् । गोली भने नचलेको बताइएको छ । उक्त झडपलाई लिएर दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन् । यो कश्मीर क्षेत्रमा पछिल्लो ४५ वर्ष यता दुवै पक्षबीच मानवीय क्षति हुने गरि भएको पहिलो भिडन्त हो । अझै पनि केही भारतीय सैनिकहरू हराइरहेको ठानिएको छ ।
भारतीय सेनाले चीनतर्फ पनि क्षति भएको बताएको छ तर बेइजिङ्ले कुनै विस्तृत विवरण दिएको छैन । भारतीय समाचार संस्था एएनआइका अनुसार मोदीले भारतले शान्ति चाहेको तर उक्साएमा उपयुक्त जवाफ दिन सक्षम रहेको पनि उल्लेख गरेका छन् । उक्त हिंसक झडप भएको २४ घण्टापश्चात् भारतीय सरकारको तर्फबाट पहिला टिप्पणीहरू आएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका रक्षा र गृहमन्त्रीहरूले आफ्ना शब्दको चयन सोचविचारपूर्ण रूपमा गरेको छन् । अरू बेला चर्का टिप्पणी गर्न नहिच्किचाउने मोदी तथा उनका मन्त्रीहरूले आफ्ना सार्वजनिक सन्देशहरूमा अत्यन्त संयमता प्रदर्शन गरेको र मुख्यतया मारिएका सैनिकप्रति गहिरो सवेदना प्रकट गर्नमा आफूहरूलाई सीमित बनाएका छन् ।
प्रधानमन्त्री मोदीले उक्साएको खण्डमा उचित जबाफ दिन नहिच्किचाउने त बताए तर त्यो टिप्पणी बेइजिङ्लाई चेतावनी भन्दा पनि उनकै घरेलु प्रतिद्वन्द्वी तथा समर्थक तर्फ लक्षित रहेको थियो ।
यसैबीच भारत तथा चीनका विदेशमन्त्रीहरूले हिमालय क्षेत्रमा भएको झडपबारे एकअर्काप्रति विरोध जनाएका छन् । तर भारतका एस जयशंकर तथा चीनका वाङ् यी बीच भएको फोन सम्पर्कमा अवस्थालाई थप विग्रन नदिनेबारे दुवैले वाचा गरेको बताइएको छ ।
भारतीय विदेशमन्त्रीले चीनले भारतीय भूभागभित्र संरचना बनाउन खोजेको आरोप लगाएका छन् भने चिनियाँ विदेशमन्त्रीले चाहिँ भारतीय फौजले पहिले आक्रमण गरेको आरोप लगाएका छन् ।
घटनाका लागि आफू जिम्मेवार नभएको चीनको दाबी
यसैबीच चीनको परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि चीन जिम्मेवार नभएको दाबी गरेको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रणरेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गर्दै कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन् ।
मङ्गलवार सार्वजनिक भएको घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भारतीय पक्षले गरिसकेको छ । चिनियाँ सैनिकहरू पनि हताहत भएको भारतको दाबी छ। तर बेइजिङले त्यसबारे केही स्पष्ट पारेको छैन ।
चिनियाँ सेनापट्टि भएको क्षतिबारे सोधिएको प्रश्नमा झाओले सोझो उत्तर नदिई सीमा सुरक्षाका लागि खटिएका टोलीहरूले संयुक्त रूपमा विवाद समाधान गर्न खोजिरहेका तथा भारत–चीन सीमामा समग्रमा स्थिर अवस्था भएको बताए ।
गलवान उपत्यकाको सार्वभौमसत्ता सधैँ चीनसँग भएको दाबी गर्दै झाओले भारतीय सैनिकहरूले सीमासम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएका छन् । तर उनले चीनले सङ्घर्ष नचाहेको बताए ।
उनले भारत र चीनबीच कूटनीतिक र सैनिक माध्यमबाट कुराकानी भइरहेको जानकारी दिएको चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले ट्विटरमा लेखेको छ ।