ई–आर्थिक, काठमाडौं । सोमबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । संक्रमितको संख्या ३५०० को हाराहारीमा पुगेको छ भने करिब ४६७ निको भएर घर फर्किएका छन् । अत्यन्तै सीमित मात्रामा गरिएको परीक्षणको रिपोर्ट दिनहुँ आइरहेको छ ।
जसअनुसार दैनिक साढे २ सयको हाराहारीमा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । परीक्षणको दायरा बढाउने हो भने दैनिक हजारभन्दा बढी संक्रमित देखिनेमा शंकै छैन । पछिल्लो समयमा भारतबाट आएका लाखौंमा परीक्षणको सुरसार नै छैन । अहिले जेजति देखिएको छ, त्यो पहिले नै लुकीछिपि भारतबाट घर आएका र तिनीहरुबाट संक्रमित मात्र हुन । भारतमा माहामारी भएपछि नेपाल फर्केका लाखौंको परीक्षण बाँकी छ । अहिलेसम्मको तस्बीरले प्रदेश नम्बर २, ५, ६ सबभन्दा बढी प्रभाबित बनेका छन् । अब तराई, पहाड, हिमाल वा भारतसँका सीमावर्ती जिल्ला भन्ने केही बाँकी रहने । सर्बत्र कोरोनाको संक्रमणा फैलिएको छ । तीन महिना लामो समयसम्म सरकारले बन्दाबन्दीबाहेक कुनै तयारी नगरेपछि उद्योगी, ब्यबसायी र मजदुरहरुले बलजफ्ती बन्दाबन्दीको उलंघन गरेका छन् । यो परिस्थिति सिर्जना भएपछि सरकारले चुपचाप हात उठाई सकेको छ । अहिले भाडाका सवारीबाहेक बजार पुरै खुला भइसकेको छ । त्रासले उपत्यकाका घरवालाहरु मात्र घरभित्र सीमित छन् । यो अस्तब्यस्त र सरकारी उदासिनता तथा गैरजिम्मेवारीले मुलुकमा अब लाखौं नागरिकमा कोरोनाको संक्रमण फैलिने प्रष्ट भइसकेको छ । हजारौले ज्यान गुमाउन सक्ने पनि आकलन गर्न सकिन्छ ।
कहाँ चुक्यो सरकार ?
सरकारले चैत्र ११ गते मुलुकमा लकडाउन गर्दा भारतमा कोरोनाले बैशको रुप धारण गर्दै थियो । बैशाखको पहिलो हप्तासम्म आइपुग्दा भारतमा कोरोना संक्रमण भयाबह बन्न थालिसकेको थियो । कोरोनाको संक्रमण न्युनीकरणका लागि भारतले पनि लकडाउनलाई कडा पार्दै गयो । लकडाउन अनिश्चित हुन थालेपछि भारतीय श्रम बजारमा काम गर्ने लाखौंको संख्याका नेपालीहरु थातथलो फर्कने सुरसार बनाइसकेका थिए । यसको नेपाल सरकारले बेलैमा जानकारी पाइसकेको थियो । त्यस बेलासम्म नेपालमा कोरोनाको संक्रमण नगन्य थियो । लकडाउन गरेको तीन हप्तासम्म पनि नेपालमा कोरोना संक्रमण पहिलो चरणमै रहेपछि केपी ओली सरकारले अब यहाँ कोरोना नफैलिने पटमूर्ख सोच र बिश्वास देखायो । अमेरिका र युरोप जस्ता शक्तिशाली मुलुक कोरोना नियन्त्रण गर्न नसकेर हात उठाएको अबस्थामा नेपालमा कोरोनाको प्रभाब लगभग शून्य देखिएको परिस्थितिमा प्रधानमन्त्री ओलीले यसलाई सरकारको ब्यबस्थापनको करामतका रुपमा प्रचार गरेर जस लिने सोच बनाए । जब कि सरकारले कोरोना नियन्त्रणमा गफबाहेक सिन्को पनि भाँचेको थिएन । बरु स्वास्थ्य सामाग्री खरिदमा ¥याल चुहाएर राष्ट्रिय बदनामी कमाएको थियो । बिषेशज्ञ, चिकित्सक र आम सचेत नागरिकले कोरोना संक्रमणले मुलुकमा भयाबह रुप लिने संभाबना रहेको बताउँदै उचित तयारीलाई तीब्र पार्न भनिरहेका थिए । बतासे कुरामा मात्र बिश्वास गर्ने र बतासे कुरा गर्ने प्रधानमन्त्री ओलीले बिज्ञहरु र नागरिकको यस्ता सुझाब र आग्रहलाई सुन्दै सुनेनन् ।
यसले सरकारको तीब्र आलोचना सुरु भयो । आफ्नो भक्तिको मात्र अपेक्षा गर्ने ओली सतहमा आलोचना हुनथालेपछि त्यस्ताबिरुद्ध चम्चे, हुक्के सबैलाई प्रयोग गरेर खनिए । अनि तलबीमा राखिएका झण्डै एक हजार उनका चम्चे र हुक्के फेसबुके र ट्वीटरेहरुले बिश्वमा कोरोना न्यून संक्रमण हुने मुलुकमध्ये नेपाल यतिऔ स्थानमा रहेको भन्दै सामाजिक सन्जाल भरे । चम्चेको लाइनको नेत्रृत्व ओलीका राजनीतिक सल्लाहाकारको रुपमा रहेका बिष्णु रिमाल र शंकर पोखरेलहरुले गरेका थिए । ओली देखेर कोरोना डराएर युरोपतिरै भागेको तिनको आसय हुन्थ्यो । सरकारकै चुस्त ब्यबस्थापन कारण कोरोना नेपालमा नआएको र यो बिश्वमै प्रचार गर्न लायक उपलब्धी भएको चम्चागिरीको मूल सन्देश थियो । सरकार र उसको संयन्त्रको यस्तो चरम गैरजिम्मेवारीपन र लापरबाही देखियो ।
यता सरकारले मूल ढोका बन्द गरेपछि खुला सीमानाबाट रोजगारीमा भारत पसेका नेपालीहरु स्वदेश भित्रिरहेका थिए । भारतसँग नेपालको एक हजार ८ सय किलोमिटरभन्दा बढी खुला सीमा रहेको छ । यस्तो अबस्थामा लुकेर र छिपेर नेपाल भित्रने सक्ने सतप्रतिशत संभाबना थियो । दैनिक हजारौंको संख्यामा रातको समय पारेर नेपाली भित्रिरहेको दिनहु समाचार आइरहेको थियो । सरकारले यसलाई पुरै वेवास्ता ग¥यो । लुकीछिपी लाखौं भित्रिएपछि भने मूल नाका पनि सरकारले खुला गरिदियो । यस बेलासम्म भारतमा कोरोनाको माहामारी भइसकेको थियो । लाखौं प्रभाबित भएका थिए भने हजारौंले ज्यान गुमाइसकेका थिए । भारतमा काम गर्ने नेपालीहरु कुनै रहरले स्वदेश फर्केका थिएनन् । त्यहाँ कोरोना संक्रमण फैलिएर काम बन्द भएको र बस्ने स्थानबाट पनि निकाला गरिएपछि बाध्य भएर घर फर्किएका थिए । यिनीहरुलाई सरकारले गरेको निर्मम ब्यबहार र वेवास्ता नै नेपालमा कोरोनाले माहामारी रुप लिने मूल कारण बन्न पुग्यो । सरकारले मूल नाका बन्द नगरेर सहज उनीहरुलाई नेपाल आउने दिएर क्वारेन्टाइनमा राख्दै घर पठाउँदै गरेको भए यस्तो अबस्था आउने थिएन । मूल बाटो बन्द गरेपछि उनीहरु बाध्य भएर लुकेर घर आउन थाले । यति धेरै खुला सीमा भएको र त्यो नियन्त्रण असम्भब देखिदेखि पनि सरकारले लापरबाही गर्नाको परिणाम हो, अहिले देखिएको संक्रमण ।
लुकेर रातारात आएका उनीहरु क्वारेन्टाइनमा नबसी सिधै घर पुगे । छिमेकीले खबर गरिदिने डरले कतिपय त घरमा पनि लुकेर बस्ने गरेका छन् । घरका अन्य सदस्य गाउँघरमा हिडडुल गर्ने र भारतबाट आएकाहरु लुकेर बस्ने गरेकाले समुदायमा निकै खतरा देखिन्छ ।
नेपालमा कोरोना नफैलने निस्कर्षमा सरकार देखिन्थ्यो । गर्मी बढेको, खानपानमा सन्तुलित भोजन भएको र छिमेकी मुलुकमा पनि जनसंख्याका हिसाबले नगन्य प्रभाब परेकाले नेपाल यो रोगले खासै नफैलिने प्रधानमन्त्री ओलीले निकट मन्त्रीहरुसँग बताउने गरेका थिए । त्यसैले केही महिना लकडाउन गर्नेबित्तिकै कोरोना नियन्त्रण हुने ओलीको बुझाई रहेको देखिन्थ्यो ।
सरकारको यस्तो बुझाई रहेकाले पूर्बतयारीलाई पनि ध्यान दिएन । कतिसम्म भने लकडाउन भएको दुई महिना हुदासमेत सरकारले आवश्यक स्वास्थ्य सामग्री नै ल्याएन । परीक्षण पनि नगन्य मात्रामा भएको छ । अझैसम्म देशका बिभिन्न भागहरुमा किट तथा आवश्यक अन्य स्वास्थ्य उपकरण पुगेको छैन ।
कोरोना भाइरस नियन्त्रण पूर्वतयारीमा सरकार चुकेका कारण समस्या जटिल बन्यो । चीनको वुहानमा कोरोना देखिएपछि पनि नेपालको लागि दुई महिना समय पाएको थियो । त्यो समय सरकार तयारीमा लाग्दै लागेन । सरकारका प्रधानमन्त्री केपी शर्माले बरु फुर्सद पाएको अनुभब गर्न पो पुगेछन् । उनी त सत्तामा बाँचुन्जेल कसरी रहिरहने भन्ने जोडघटाउतिर पो लागेछन् । कोरोनाले संघारबाट भित्रै चिहाइसकेको थियो, त्यसको तयारी त कुरै छैन, बरु ओली बालुवाटारमा आफ्ना सुण्डमुसुण्ड राखेर अरु पार्टी फुटाउने र आफू मात्र बलियो भएर सत्तामा टाँसिरहने फोहोरी खेलतिर पो लागेछन् । नेपालमा केही हुँदैन भन्ने उनको पटमुर्ख मानसिकता नै अहिलेको मूल समस्या हो ।
पूर्वतयारीमा सर्वप्रथम अन्तर्राष्ट्रिय आगमन रोक्नुका साथसाथै अस्पतालमा चाहिने उपकरण पर्याप्त राख्नुपथ्र्यो । भेन्टिलेटर, अक्सिजनको सप्लाई र जनशक्ति तयारीतर्फ लाग्नुपथ्र्यो । जनतालाई जनचेतना दिन विशेषज्ञ विज्ञ राखेर कार्यक्रम सुरू गर्नुपथ्र्यो । भारतबाट पहिला नेपाली नागरिकलाई जथाभावी प्रवेश गर्न दिइयो। अन्तिममा लकडाउन गरियो,प्रवेश निषेध गरियो । थोरै मानवीयता पनि देखाइएन । बोर्डरमा हजारौं नेपाली नागरिक आएर थुप्रिए । तिनीहरुको दुःख, ब्यथा सुन्ने कोही भएन । सरकारले गेट बन्द ग¥यो र बालुवाटारमा बासुरी धुन अलापेर मस्त सुतेर बस्यो । फलतः बोर्डरमा थुप्रिएर बसेका नेपाली रातको समयमा खेला सीमाबाट सजिलै घर फर्किए । दिउसो हजारौंको संख्यामा रहेका नेपाली राती सीमा पार गरेको सरकारी संयन्त्रले थाहा पाएकै थियो । तर उनीहरुको उचित ब्यबस्थानतिर ध्यान दिएन ।
सरकारले पूर्णरुपमा योजना,रणनीति बनाउनै सकेन । संघको समन्वय फितलो हुदा अरु दुई सरकार पनि किंकर्तब्यमुढ झै भए । कार्यान्यवन पक्ष कमजोर नै थियो, रणनीति पनि कमजोर बन्न पुग्यो । जहाँ केस देखियो, त्यहीँ दौडियो,सिल ग¥यो । सरकार यसरी बिना योजना, बिना रणनीति भौंतारियो मात्र । पहिलादेखि नै दूरदर्शिता देखाएर यस्तो हुन सक्छ भनेर योजना बनाउनुपथ्र्यो । दुई महिना समय पाउँदा केही रणनीति बनाएर काम गरेको भए यो अवस्था आउँदैन थियो ।
वुहानमा महामारी रुप लिएपछि बच्न दूरी कायम गर्ने, हात धुने, सेनिटाइजटरको प्रयोग गर्नुपर्छ भन्ने थाहा भएको थियो । त्यसैगरी, क्वारेन्टाइन र आइसोलेसनका बनाउने काम चीनले गरिरहेको थियो । यसको बारेमा हामी अनभिज्ञजस्तै भयौ । हामीलाई केही हुँदैन भन्ने भान प¥यो । देशमा कोरोना प्रवेश गर्न नदिनको लागि तयारी पुग्न सकेन । यसको लागि गाइडलाइन बनाउने र संक्रमण देखिएको अवस्थामा के गर्ने पूर्वतयारी भएन ।
निकै ढिलो गरेर अन्तर्राष्ट्रिय आगमनमा रोक लगाई हेल्थ डेस्स त राखियो, तर जति सावधानी अपाउनुपर्ने थियो,त्यो भएन । जो अगाडि आयो,त्यसलाई मात्र थर्मोमिटर राखेर जाँच गरियो । अहिले औषधी–उपकरण नभएर परीक्षण बन्द हुने अवस्था छ । लक्षण नदेखिएसम्म परीक्षण नगर्ने सरकारले भनिसकेको छ । यो जतिको असफलता र लाचारी अरु केही हुन सक्दैन । चीनबाट ल्याएको ¥यापिड टेस्ट कमसल आएको सबैलाई थाहा नै छ।
ड्युटीमा खटिएको सुरक्षाकर्मी र संक्रमित बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने सोचिएन । पिपिई,मास्क,पञ्जाजस्ता सामग्री चाहिन्छ भन्ने कुरा विभिन्न देशमा फैलिएसँगै थाहा भइसकेको थियो । यसबीचमा इटालीमा पनि कोरोनाको संक्रमण देखिएको थियो । इटालीमा सरकार त्यति तयार नभएर अस्पताल अस्तव्यस्त भएको र बिरामीले कुरेको देखियो । उपचारको लागि भेन्टिलेटर तथा आइसियू नभएर धेरै बिरामीको मृत्यु समेत हुनपुग्यो । यो सरकारले पहिले नै देखिसकेको थियो तर त्यसबाट पाठ सिक्न खोजेन ं।
परीक्षणको लागि पिसिआर चाहिन्छ । सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको एउटा पिसिआरको भरमा सबै काम सक्छौं भन्ने सोच्यो । अन्यको लागि कुनै व्यवस्थापन गर्नतर्फ मन्त्रालय र सम्बन्धित निकायले सोचेनन् । चीनमा संक्रमण फैलिएको वुहान क्षेत्र नै पूरै लकडाउन भयो । लकडाउन भएपछि त्यसको तयारी के–के गर्नुपर्छ विज्ञमार्फत छलफल गर्नुपर्ने थियो । कोरोनाको व्यवस्थापन गर्ने सम्पूर्ण पूर्वतयारीमा फेल भयौं ।
जब नेपालमा नयाँ संक्रमित देखाप¥यो ,टेकु अस्पतालले सबै सम्हाल्छ भन्ने भ्रम पालेर सरकार बस्यो । आइसोलेसन र आइसियूको तयारी गर्न तिर सरकारको ध्यानै गएन । स्वास्थ्य मन्त्रालयअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा २२ वटा पिसिआर मेसिन रहेछन् । त्यो सूचनासमेत सरकारसँग रहेनछ । लामो समयसम्म राष्ट्रिय प्रयोगशालाको मात्र भरमा परेर सरकार रमिते बन्यो । जब पिसिआर अरु पनि छन् भन्ने थाहा भयो, त्यसलाई प्रभाबकारीढंगले सन्चालन गर्नेतिर पनि सरकारको सोच नै बनेन । भएका पिसिआर मेसिनलाई सञ्चालन स्वास्थ्य जनशक्ति तयार गर्नतिर लागिहाल्नुपथ्र्यो । आफूसँग भएको स्रोत–साधन के–के छन् ? त्यसको कसरी पुरै क्षमतामा उपयोग गर्ने ? सरकारको कुनै सरोकारको बिषय नै बनेन । यसबारेमा स्वास्थ्य मन्त्रालयमा विज्ञहरू बोलाएर छलफल गर्नुपथ्र्यो । प्राकृतिक विपतसँग लड्ने अनुभव र सक्षम भएका व्यक्ति खोजी सरकारले गर्न सकेन । सरकारले आफूसँग भएका वरिपरिका मानिस राख्यो र छलफल ग¥यो,जुन परिमाणमुखी भएन ।