ई–आर्थिक, काठमाडौं । डब्लू एचओसँग अमेरिका रुष्ट भएको छ । चीनको कठपुतली भएको भन्दै राष्ट्रपति ट्रम्पले डब्लू एचओमाथि नाता तोडेको घोषणा गरेको छ । ट्रम्पले उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, ‘डब्ल्यूएचओमा चीनको पूर्णतः नियन्त्रण रहेको छ ।’
अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको रकम वाशिङ्टनले अन्य निकायहरूलाई प्रदान गर्ने पनि ट्रम्पले बताए । अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्येमा पर्छ । उसले गत वर्ष ४० करोड अमेरिकी डलर प्रदान गरेको थियो ।
यसै वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुनका लागि चुनावी अभियान गरिरहेका ट्रम्पलाई महामारी व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्ने गरिएको छ ।
उनले भने चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन् ।
कोभिड–१९ का कारण अमेरिकामा १ लाख २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ ।
‘आज हामी डब्ल्यूएचओसँगको सम्बन्ध तोड्दैछौँ र त्यो रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ,’ ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै उनले भने ।
‘चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ ।’ उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पार्न चीनले दबाव दिएको आरोप पनि लगाए ।
ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई रकम नदिने बताएका थिए ।
उनले डब्ल्यूएचओको प्रमुखलाई गत मे १८ मा पत्र लेख्दै असहमति व्यक्त गरेका थिए ।
चीनले भने अमेरिकामा भाइरस फैलिनुमा अमेरिका स्वयम् जिम्मेवार रहेको बताएको छ । डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले कोरोनाभाइरस महामारीबारे चालिएका कदमहरूको एउटा स्वतन्त्र छानबिन गर्ने निर्णय गरिसकेका छन् ।