ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेर ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।