२०८३ साउन ९ शनिबार

दुई दिनमा दुईसय ४२ जनालाई स्वदेश ल्याइयो

ई आर्थिक    मंगलबार, बैशाख ३० २०७७
8.5K
Shares
दुई दिनमा दुईसय ४२ जनालाई स्वदेश ल्याइयो

ई-आर्थिक, भीमदत्तनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतमा ४५ दिन क्वारेन्टाइन बसेका २४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।

आइतबार र सोमबार राति गरी दुई दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कूलमा क्वारेन्टाइन बसेका २५१ जनामध्ये पहिलो दिन ७५ र सोमबार राति १६७ जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा ४५ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको जानकारी दिनुभयो ।

उनीहरुलाई भीमदत्तनगरस्थित वैजनाथ माध्यमिक विद्यालयमा राखेर आरडिटीका लागि नमूना सङ्कलन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

“परीक्षणमा कोरोना नदेखिए पनि सम्बन्धित पालिकामा कम्तीमा आठ दिन क्वारेन्टाइन बस्ने गरी पठाउने काम हुँदैछ ।” उहाँले भन्नुभयो, “यहाँ आरडिटी र पिसिआरका लागि नमूना सङ्कलन भइरहेको छ ।” उहाँले आइतबार आएकामध्ये धेरैलाई सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइसकिएको बताउनुभयो ।

“भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरु सीमामा आउने क्रम बढ्यो ।” उहाँले भन्नुभयो, “हामीले सतर्कताका साथ काम गरिरहेका छौँ ।”

भारतीय पक्षले क्वारेन्टाइनबाट घर जान अनुमति दिएका नागरिकले प्रहरीले सीमाक्षेत्रबाट उद्धार गरी यहाँको क्वारेन्टाइनमा कोरोना जाँचका लागि राख्ने गरेको छ ।

कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्ट आइतबार राति ल्याइएका ७५ जनाकै रिपोर्ट नेभेटिभ आएको बताउनुभयो ।

“हिजो राति आएकाहरुको अब परीक्षणका लागि नमूना सङ्कलनको तयारी हुँदैछ ।” उहाँले भन्नुभयो, “नेगेटिभ देखिएकालाई सम्बन्धित पालिका पठाउने काम पनि हुँदैछ ।”

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij