२०८३ साउन ९ शनिबार

मनकारी गिरी परिवारले गरे डेढ लाख घरभाडा छुट, श्रेष्ठ परिवारद्वारा खाद्यन्न विरतण

ई आर्थिक    बिहिबार, बैशाख २५ २०७७
20.6K
Shares
मनकारी गिरी परिवारले गरे डेढ लाख घरभाडा छुट, श्रेष्ठ परिवारद्वारा खाद्यन्न विरतण

ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ को संक्रमण र त्यसको त्रासले यतिखेर विश्व संकटमा छ । लामो समयदेखि लकडाउन गरेर बसेको नेपाल पनि यसबाट अछुतो हुने कुरै भएन । काम दाम छाडेर लकडाउनको पालना गरेर बसेर अहिले आम नेपालीले संकटको सामान गरिरहेका छन् ।

महासमस्याको यो घडीमा एक आपसमा सदभाव र सहयोग बाँड्ने काम पनि भइरहेका छन् । यसै क्रममा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ५ का हरि गिरी र इन्दिरा राउत (गिरी) परिवारले घरभाडामा बस्नेहरुलाई १ महिनाको घरभाडा छुट गरिदिएका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० हिल टोलमा रहेको आफ्नो घरमा भाडामा बस्नेहरुलाई गिरी परिवारले भाडा छुट गरेका हुन् ।

खाने पानी व्यवसाय गर्ने गिरी परिवारले १ महिनाको १ लाख ५० हजार बराबर भाडा छुट गरेको बताए । उक्त घरमा १० परिवार बस्दै आएका छन् ।

‘सरकारले घरभाडा छुट गर्न गरेको आव्हान समेतलाई मध्येनजर गरेर आफूले पनि एक महिनाको घरभाडा छुट गरेको हुँ ।’ व्यवसायी गिरीले भने– ‘संकटको यो घडीमा सरकारकोे उक्त आव्हानलाई कदर गर्दै समस्यामा परेकालाई सहयोग गर्नु मानवता पनि हो ।’

घटीमा पनि एक महिनाको भाडा छुटमा उदारता देखाउन उनले सबै घरबेटीहरुलाई आग्रह पनि गरे ।

संकटको यो घडिमा आफूले सकेको सहयोग र सदभाव बाड्नु आफ्नो कर्तव्य भएको सहयोगी गिरीले बताए । आफ्नो यो सानो सहयोगले संकटको सामाना गरिरहेका १० परिवारलाई केही मात्र भएपनि राहत महसुस भएको उनले विश्वास लिए । व्यवसायी गिरी समाजसेवी समेत हुन् ।

विरामी र अपाङ्ग परिवारलाई श्रेष्ठ परिवारको सहयोग

लकडाउनले बढाएको संकटमा आफ्नो क्षमताले भ्याएसम्म सवैले सहयोगको उदारता प्रदर्शन गरिरहेका छन् । यसैक्रममा तारकेश्वर नगरपालिका धर्मस्थलीमा स्थानीय व्यवसायी गोपाल श्रेष्ठ तथा कल्पना खड्का (श्रेष्ठ) ले खाद्यन्नसहितको राहत वितरण गरेका छन् ।

सो श्रेष्ठ परिवारले स्थानीयस्तरमा रहेको विरामी र अपाङ्गहरुलाई खाद्यन्न वितरण गरेका हुन ।

प्रत्येक पीडितहरूलाई ५ केजी चामल, आधा किलो दाल, आधा लिटर तेल, १ पाकेट नुन, साबुन २ पिस, बिस्कुट ४ पाकेट वितरण गरिएको गोपाल श्रेष्ठले जानकारी दिए ।

‘जसको सहारा छैन, जो काम गर्न सक्दैन उनीहरुलाई हामीले सहयोग गरेका हौं ।’ श्रेष्ठले भने– ‘संकटको यो घडीमा आफूले सकेको सहयोग गरेर मानवीयता प्रदर्शन गर्नुपर्छ ।’ आफ्नो सानो सहयोगले ती पिडित परिवारलाई केही मात्र भए पनि राहत महसुस भएको हुनुपर्ने उनले बताए ।

स्थानीय व्यवसायी श्रेष्ठ समाजसेवी समेत हुन ।

हामीले दिएको सहयोग ठूलो सहयोग हैन तर क्षमता अनुसार आफूले सकेको सहयोग सबैले गर्नुपर्छ भन्ने उदाहरण दिन समेत आफूले सहयोग गरेको उनले बताए ।

बास्तवमै अफ्ठ्यारोमा परेको वेला सानो ठूलो जे जस्तो सहयोग भएपनि गर्नु सबैको कर्तव्य हो । गिरी परिवार होस् या श्रेष्ठ गरिवार, अफ्ठ्यारो परेको वेला एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाको सन्देश दिने यिनीहरु आम नेपालीका लागि प्रेरणाका स्रोत हुुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij