२०८३ भाद्र २९ सोमबार

नेपाल प्रहरीको म्याट्रेस खरिदमा करोडौं घोटाला !, सांसद ‘अपहरण’ मा मुछिएका श्रेष्ठ र पूर्बआइजीपी खनालको मिलेमतो

ई आर्थिक    आइतबार, बैशाख २१ २०७७
35.8K
Shares
नेपाल प्रहरीको म्याट्रेस खरिदमा करोडौं घोटाला !, सांसद ‘अपहरण’ मा मुछिएका श्रेष्ठ र पूर्बआइजीपी खनालको मिलेमतो

ई–आर्थिक, काठमाडौं । खरिद ऐनलाई छलेर नेपाल प्रहरीको म्याट्रेस खरिदमा करोडौ घोटाला गरेको देखिएको छ । नेपाल प्रहरीले सातवटै प्रदेशमा प्रयोगको लागि खरिद गर्न लागेको ३५ हजार थान कोयर म्याट्रेशमा यस्तो घोटाला देखिएको हो । प्रहरीले ५ हजार रुपैयाँका दरले खरिद गर्न लागेको १५ करोड बराबरको उक्त म्याट्रेश अहिले निर्माण भइरहेको छ । म्याट्रेश निर्माणको ठेक्काका लागि बोलपत्र आब्हान नगरेको बुझिएको छ ।

नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्बेन्द्र खनालले आफ्ना अत्यन्त नजिकका मित्र कृष्णकुमार श्रेष्ठ(किसान) संग मिलेमतो गरेर उक्त सामान निर्माणको जिम्मा उनको कम्पनी क्लासिक कोयर म्याट्रेसलाई जिम्मा दिएका हुन । उक्त कम्पनीका सञ्चालक श्रेष्ठ सत्तारुढ दल नेकपाका साँसद पनि हुन । खनाल र श्रेष्ठ दुबै तनहुँका गाउँले पनि हुन ।

प्रधानमन्त्री केपी ओलीका बिश्वासपात्र साँसद श्रेष्ठले खनाललाई आईजीपी बनाउन ठूलो भुमिका खेलेका थिए । सांसद कृष्णकुमार श्रेष्ठ किसान र पूर्व प्रहरी महानिरिक्षक खनाल असाध्यै मिल्ने साथी पनि हुन । भर्खरै मात्र उनीहरु संघीय समाजवादी फोरमका सांसद डाक्टर सुरेन्द्र यादव अपहरणमा समेत संलग्न रहेको आरोप लागेको छ ।

साँसद यादबले आफूलाई डरधम्की देखाई जनकपुरबाट काठमाडौंसम्म ल्याई होटलमा थुनेको भन्दै साँसद श्रेष्ठ र पूर्बआईजीपी खनालसहितलाई राष्ट्रिय मानब अधिकार आयोगमा निबेदन दिएका छन् । यिनै सर्वेन्द्र खनाल प्रहरी प्रमुख रहँदा नेपाल प्रहरीका लागि ३५ हजार थान कोयर म्याट्रेश उपलब्ध गराउने ठेक्का सांसद श्रेष्ठलाई दिइएको थियो । नेपालमा हाल १५/२० वटा गुणस्तरीय म्याट्रेश उत्पादन गर्ने कम्पनीहरु छन् । तर शक्तिको आड र आर्थिक प्रलोभनमा झण्डै १५ करोड बराबरको कोयर म्याट्रेश बनाउने जिम्मा साँसद श्रेष्ठले पाएका थिए । श्रेष्ठले कमसल कच्चा पदार्थ प्रयोग गरी म्याट्रेश बनाएको स्रोतले जानकारी दिएको छ ।

त्यसैले उक्त म्याट्रेश गुणस्तरहीन हुनसक्ने, टिकाउपन एकदमै कम रहनसक्ने प्रहरीकै उच्च स्रोतले जानकारी दिएको छ । ‘गुणस्तर कायम नहुदा ६ महिनासम्म पनि टिक्न गाह्रो हुनसक्छ ।’ प्रहरी स्रोत भन्छ ‘त्यसपछि फेरि कोयर म्याट्रेश किन्नुपर्ने हुन्छ ।’

तत्कालीन आइजीपी खनाल र म्याट्रेस उपलब्ध गराउने श्रेष्ठबिच कतिसम्म मिलेमतो थियो भने प्रहरीले ‘स्पेसिफिकेशन’ नै श्रेष्ठको कम्पनीले मात्र काम गर्ने गरी तयार पारेको थियो ।

प्रहरीले म्याट्रेशमा प्रयोग गरिने कच्चा पदार्थको नाम किटेर सूचना जारी गरेको थियो । जसमा श्रेष्ठसँग भएको कच्चा पदार्थलाई हेरेर त्यसो गरिएको थियो । त्यसो गर्नुको उद्देश्य मुलुकभरमा रहेका करिब दुई दर्जन म्याट्रेश कम्पनीले प्रतिश्पर्धा गर्न नसकुन भन्ने हो । नेपाल प्रहरीले म्याट्रेशको माग गर्दा सांसद श्रेष्ठकै कम्पनीले मात्र काम पाउने गरी विशिष्टता जारी गर्नुले ठूलो रकमको चलखेल भएको पाइन्छ ।

निज श्रेष्ठले पदीय मर्यादाको दुरुपयोग गर्दै शक्तिको आडमा तीन/चार महिना अगाडि सेनाको म्याट्रेश खरिद प्रकरणमा अरु नै व्यक्तिलाई परेको ठेक्का रद्ध गरी आफूलाई पार्न सफल भएका थिए । खरिद ऐन अनुसार करिब १५ करोड रुपैयाँको उक्त म्याट्रेश उत्पादनका लागि बिभिन्न कम्पनीबिच प्रतिष्पर्धा गराउन राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गर्नुपर्थ्यो । प्रहरीले यस्तो प्राबधानलाई लत्याएको देखिन्छ । यसका लागि पूर्वआइजीपी खनालले सानो परिमाणमा सामान खरिद गरेको देखाउन सात वटै प्रदेशको छुट्टा छुट्टै कोटेशन तयार पारेको स्रोतले जनाएको छ । तर सामान भने केन्द्रले नै एकमुष्ट खरिद गरेर सातै प्रदेशमा बितरण गर्ने हो ।

यस विषयमा आधिकारिकि जानकारी दिन भने प्रहरीका उच्च पदस्थ अधिकारीहरु अस्वीकार गर्छन । कानून विपरित स्वेच्छिककढंगले खरिद प्रक्रियालाई अगाडि बढाइएको भए बदर गर्ने चाहि उनीहरु बताउँछन् । प्रहरीको लागि बन्दै गरेको म्याट्रेश कस्तो छ ? ७० प्रतिशत कोयर र ३० प्रतिशत लो मेल्ट फाइबर प्रयोग गर्नुपर्ने भनी उल्लेख गरिएको छ । यसरी बनाइएका म्याट्रेश छ महिना टिक्न पनि मुश्किल पर्ने खालको हुन्छ । एक पटक दबाएपछि अर्थात बसिसकेपछि माथि नउठ्ने हुन्छ । यसका कच्चापदार्थ पेट्रोलियम बाइ प्रोडक्ट हुन । जुन स्वास्थ्यका लागि हानिकारक समेत रहन्छ । सुत्नका लागि यो त्यति आरामदायी नहुने म्याट्रेश उत्पादकहरुले बताएका छन ।

गुणस्तरीयतालाई ध्यानै नदिई एउटा कम्पनीलाई पोस्ने हिसाबले स्पेशिफिकेशन तोकिनु नै गलत छ । प्रहरीले विशिष्टतामा उल्लेख गरे बमोजिम पाँच वर्षसम्म टिकाउ रहने भनिएको छ । ७० प्रतिशत कोयर र ३० प्रतिशत लो मेल्ट जस्ता कच्चा पदार्थ प्रयोग गरी बनाइएका म्याट्रेश छ महिना पनि टिक्न नसक्ने हुन्छ ।

सांसद श्रेष्ठले विगतमा नेपाली सेनाको हकमा पनि विभिन्न हथ्कण्डा अपनाएर आफूलाई टेन्डर पार्न सफल भएता पनि माग बमोजिमको म्याट्रेश दिन अझै सकिरहेका छैनन् । नेपाली सेनालाई श्रेष्ठको कम्पनीले ३ महिना भित्र सामान उपलब्ध गराउनुपर्ने संझौता थियो । तर ६ महिना वितिसक्दा पनि सामान उपलब्ध नगराएको स्रोतले जानकारी दिएको छ ।

गुणस्तरीय कोयर म्याट्रेश रबराइज्ड हुनुपर्छ । अर्थात नरिवलको जटाबाट बनेको हुनुपर्छ । त्यसको बीचमा इपीइ फर्म हुनुपर्छ । यसरी प्रयोग गरी बनाइएका म्याट्रेशको टिकाउपन सात/आठ वर्षको रहने हुन्छ । यो स्वस्थकर रहन्छ । नखुम्चने र दबेपछि माथि उठ्ने खालको हुन्छ । यस्तो म्याट्रेश उत्पादन गर्दा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय प्रबिधि अपनाउनुपर्ने हुन्छ । यसरी बनाइएका कोयर म्याट्रेश बढी टिकाउ, स्वस्थकर रहने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij