२०८३ साउन १० आइतबार

उत्तर कोरियाली नेता किम मृत्यु भएको समाचार झुटा सावित, मल कारखाना उद्घाटन कार्यक्रम सार्वजनिक

ई आर्थिक    शनिबार, बैशाख २० २०७७
6.3K
Shares
उत्तर कोरियाली नेता किम मृत्यु भएको समाचार झुटा सावित, मल कारखाना उद्घाटन कार्यक्रम सार्वजनिक

ई–आर्थिक, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन मृत्यु भइसकेको समाचार केही अनलाइन र युट्युवरहरुले हालपछि भाइरल भएका थिए । उन बारेको त्यस्ता समाचार अहिले पनि केही अनलाइन र युट्युब च्यानलमा देख्न, पढ्न र सुन्न सकिन्छ । उनी २० दिनसम्म कुनै सार्वजानिक कार्यक्रममा नदेखिए पछि विश्वका ठूला–ठूला मिडियाले समेत विभिन्न अड्कलबाजी लगाए । उनको बारेमा विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएपछि ती मिडियाका समाचार र अनुमान झुठो सावित भएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन शुक्रबार राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखाना उद्घाटन कार्यक्रममा गएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ । नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ ।

समाचारसहित नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ । त्यसैगरी उनले फ्याक्ट्रीको अनुगमन गरेको तस्बिर पनि प्रकाशित गरिएको छ । उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् ।

अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङ–उन उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी लगाइएको थियो । त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि उनी सहभागी भएका भएनन् ।

सन् २०११ मा उत्तर कोरियाली सत्तामा आएदेखि उनी कहिल्यै पनि ती समारोहमा अनुपस्थित भएका थिएनन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेता किम प्योङयाङको उत्तरी क्षेत्रमा रहेको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको विवरणसमेत सार्वजनिक गरेका थिए भने केहीले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट बच्न उनी बोनसान गएको बताएका थिए ।

राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमले भने नेता किमबारे केही बोलेको थिएन । तथापि उसले तस्बिर सार्वजनिक नगरिकनै नेता किमले दैनिक क्रियाकलाप गरिरहेको समाचार भने प्रकाशन गर्दै आइरहेको थियो ।

पछिल्लोपटक सार्वजनिक भएका उनका तस्विरहरुले उनका सबै समाचारका अनुमानलाई चिर्दै उनी जिवित रहेको र नियमित क्रियाकलाप गरिरहेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij