ई–आर्थिक, काठमाडौं । बिश्व बैकले नेपालको आर्थिक बृद्धिदरको प्रक्षेपणलाई एक महिना नपुग्दै संशोधन गरेको छ । यसअघि नेपालको आर्थिक बृद्धिदर ५.३ हुने प्रक्षेपणलाई संशोधन गरेको हो । आईतबार सार्बजनिक गरेको नयाँ प्रक्षेपण अनुसार अब नेपालको बृद्धिदर १.५ मा खुम्चने छ ।
कोरोनाको असरले नेपाली अर्थतन्त्र संकटमा परेको बिश्व बैकले जनाएको छ । कोरोनाले नेपाली अर्थतन्त्रका मुल संरचनामा नराम्रो धक्का पुगेको कुरालाई मध्यनजर गरी नयाँ प्रक्षेपण गरेको हो । पर्यटनलगायत सेवा तथा उत्पादनमुलुक उद्योगहरु, बैदेशिक रोजगार र कृषि क्षेत्रमा समेत कोरोना संकट देखिन थालेकाले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने बिश्व बैंकको आँकलन छ । आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।
सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ ।
विश्व बैंकका अनुसार भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ । माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।
दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ । खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ । कोभिड १९ कारण सीमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाई छ ।
कोभिड-१९ को असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ । कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ । यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ ।
आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् । दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ । साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पु¥याउने विश्व बैंकको भनाई रहेको छ ।