ई आर्थिक, काठमाडौं । बैंकले आफ्ना ग्राहकहरुका लागी राहत प्याकेज स्वरुप किस्ता तिर्न तीन महिना समयावधि दिएको छ। कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले राहत प्याकेज घोषणा गरेको हो ।
जसअनुसार कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने किस्ता रकम आउँदो असारसम्म तिरे अतिरिक्त शुल्क नलाग्ने भएको हो ।
कोरोना (कोभिड–१९) भाइरसको महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित पर्यटन, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैंकले घोषणा गरेको विशेष राहत प्याकेजमार्फत ग्राहकले यस्तो सुविधा पाएका हुन् ।
२०७६ चैतमा असुल गनुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी ०७७ असारसम्म हुने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनेको छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने पनि राष्ट्र बैंकले प्रस्ट्याएको छ । यस्तै कर्जा असुल नभएको हकमा बैंकले सो कर्जालाई खराब कर्जामा राख्नु नपर्ने सुविधा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले अब ३ प्रतिशत मात्र अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गरे पुग्ने भएको छ । यसअघि ४ प्रतिशत सीआरआर राख्नुपर्ने निर्देशन थियो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिन पाउने कर्जाको ब्याजदर (बैंक दर) पनि घटाएर ५ प्रतिशत बनाइएको छ । यसअघि ६ प्रतिशत थियो ।
