२०८३ साउन १२ मंगलबार

इराकको कुर्दिस्तानमा कर्फ्यु, नेपाली कामदारहरू समेत कोठाभित्रै बन्धक

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
3.9K
Shares
इराकको कुर्दिस्तानमा कर्फ्यु, नेपाली कामदारहरू समेत कोठाभित्रै बन्धक

ई–आर्थिक, काठमाडौं । इरानको कुर्दिस्तान सरकारले कोरोनाको संक्रमण फैलिन नदिन भन्दै कर्फ्यु जारी गरेपछि यहाँको जनजीवन कष्टकर बनेको हो । चीनबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले इराकको कुर्दिस्तानमा पनि आतंक मच्चाउन थालेपछि यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।

कोरोनाभाइरस फैलिने सम्भावित खतरालाई ध्यान दिँदै गएको शुक्रबार कुर्दिस्तान सरकारले इर्बिल र सुलेमानी शहरमा ४८ घण्टा कर्फ्यु लगाएको थियो । तर, कर्फ्यु समय अवधि नसकिँदै ७२ घण्टा बढाएर बिहीबार मात्र कर्फ्यु खोलिने जनाइएको छ । आवश्यक देखिएमा यो अवधि बढाउन सकिने बताइएको छ ।

कर्फ्यु लागेपछि सुलेमानी र इर्बिल शहर पुरै सुनसान छ। यातायात ठप्प छ । व्यापारिक मल,कलकारखानालगायत अन्य सबै व्यवसाय पूर्ण रुपमा बन्द छन् । त्यस्तै उड्डयन प्राधिकरणले मार्च १७ बेलुका ६ बजेदेखि मार्च २४ सम्मका लागि अन्तराष्ट्रिय उडान पनि बन्द गराएको छ ।

कुर्दिस्तानमा नेपाली कामदारहरूको संख्या उल्लेख्य मात्रामा छ । यहाँ गैरकानुनी रुपमा नेपालीहरू पुगेकाले आधिकारिक तथ्यांक छैन । कुर्दिस्तान इराकको सबैभन्दा बढी कामदार रहेको क्षेत्र हो । कर्फ्युका कारण यहाँ रहेका नेपाली कोठा भित्रै बस्न बाध्य भएका छन् ।

कोरोनाले गर्दा व्यापारिक मल, रेष्टुरेन्ट, क्याफे, बार बन्द हुँदा धेरै नेपाली कामदारहरू कोठा भित्रै सीमित हुन् पुगेका छन् । यहाँ धेरै नेपाली कामदारहरू बाहिर स्वयम् कोठा लिएर बस्ने भएपनि अहिले कम्पनीहरूले आफ्नै मातहत कम्पनीमा राखेको छ । केही नेपाली भने कोठामा नै बसेका छन् ।

कुर्दिस्तानमा घरेलु कामदारको रुपमा काम गर्नै नेपाली महिलाहरू पनि छन् । घरेलु महिला कामदारको हप्तामा एक पटक शुक्रवार बिदा हुन्छ । कतिपयले भने महिनामा एक पटक मात्रै बिदा पाउँछन् । हाल घरेलु कामदार कसैलाई पनि बिदा दिइएको छैन् । महिना भर घरमा काम गरेर एक पटक बाहिर निस्कन पाउँदा हुने खुशी गुम्दा दुख लागेको नेपाली कामदारले बताएका छन् । उनीहरुले आफूले बन्दी जीवन बिताइरहेको महसुस भएको समेत अनुभव गरिरहेका छन् ।

कुर्दिस्तानमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । हालसम्म २९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये ५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij