ई आर्थिक, एजेन्सी। विश्व अहिले कोरोना भाइरस महामारीको प्रकोप सँग नराम्ररी झुदिरहेको छ। विश्व अर्थतन्त्र सिथिल मात्रै नभएर यसले मानिसको मन र मस्तिष्कमा डरको डेरा बसाएको छ। तर यहि अवस्थालाई ह्याकरहरुले भने बलियो अस्त्रका रुपमा प्रयोग गरिरहेको पाइएको छ। ह्याकरहरुले कम्प्युटर भाइरस फैलाइरहेकाे पाइएको हो ।
कोरोनाभाइरस सङ्क्रमणको प्रकोप विश्वभरि फैलिरहँदा ह्याकरहरूले भय र द्विविधाको परिस्थितिमा नियोजित रूपमा कम्प्युटर भाइरस फैलाइरहेका छन्।
कोरोनाभाइरस प्रकोपका समाचारले प्राथमिकता पाउन थालेपछि साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले रिपोर्ट गरेका केही इमेल फिशिङ स्क्यामलाई बीबीसीले नियालिरहेको छ। लाखौँ नक्कली इमेलमार्फत् विभिन्न आपराधिक कार्य भएको पाइएको छ।
कोरोना भाइरसकाे खबरले प्राथमिकता पाउन थालेपछि ह्याकरले भाइरससम्बन्धी त्रासका खबर समेट्दै कम्प्युटर भाइरस फैलाउन थालेको साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले जनाएका छन् ।
कोरोना भाइरसकाे नाम दिइएको हानिकारक कम्प्युटर भाइरसलाई एन्टिभाइरसले तीन हजारभन्दा धेरै पटक भेटेको भन्दै खराब सफ्टवेयर नियन्त्रणको क्षेत्रमा स्थापित कम्पनी क्यास्पर्स्कीले सचेत रहन सबैलाई आग्रह गरेको छ ।
ह्याकरहरुले विश्व स्वास्थ्य सङ्गठनको लोगोसमेत दुरुपयोग गरी कोरोनाबारे जानकारी भन्दै कम्प्युटर भाइरस फैलाइरहेकाे क्यास्पर्स्कीले जनाएको छ । अहिले कोरोना भाइरसकाे नाममा लाखौं नक्कली इमेलमार्फत विभिन्न आपराधिक कार्य भएको पाइएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार ह्याकरहरुले समाचारजस्तो लाग्ने फिशिङ अर्थात इन्टरनेटबाट मानिसलाई प्रलोभनमा पारी तिनको व्यक्तिगत विवरण सङ्कलन गर्ने गरेका छन् । यसले कोरोनाको त्राससँग जोडेर डरलाग्दो अफवाह फैलाएकाे खबरमा उल्लेख छ ।
व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किस भाषाको प्रयोग गरिरहेकाे बीबीसीले जनाएकाे छ ।

गत महिना प्रूफप्वाइन्टमा कार्यरत अनुसन्धानकर्ताहरूले पहिलो पटक आफ्ना ग्राहकलाई एउटा अनौठो इमेल पठाइएको भेउ पाए।
एक रहस्यमय चिकित्सकको नामबाट पठाइएको उक्त सन्देशमा चिनियाँ र ब्रिटिश सरकारले लुकाउन खोजेको कोरोनाभाइरसको खोपबारे विस्तृत विवरण भएको प्रमाण भएको दाबी गरिएको थियो।
प्रूफप्वाइन्टका अनुसार इमेल पाएका जिज्ञासु मानिसहरू त्यसमा क्लिक गरेपछि सामान्य र विश्वसनीय लाग्ने डक्युसाइन पृष्ठमा पुगे। तर त्यो खासमा अपराधीहरूले लग-इन विवरण पत्ता लगाउन बनाएको एउटा छद्म वेबपेज हो।
अकाउन्टको नाम र पासवर्ड पत्ता लगाएपछि तपाईँका दस्तावेजमा उनीहरूको पहुँच हुन्छ। साथै त्यो इमेल र पासवर्ड प्रयोग भएका जुनसुकै वेबसाइटमा उनीहरू पहुँच पाउन सक्ने हुन्छन्।
प्रूफप्वाइन्टका अनुसार एकै समयमा दुई लाखवटा इमेल पठाइएको देखिएको छ। प्रूफप्वाइन्टस्थित थ्रेट रिसर्च एन्ड डिटेक्शन टोलीका शेरोड डेग्रिपो भन्छन्ः “हामीले लगातार ३५ भन्दा बढी दिन कोरोनाभाइरससम्बन्धी हानिकारक इमेलहरू पठाइएको पायौँ। तीमध्ये अधिकांश कोरोनाभाइरसको त्रास देखाउँदै क्लिक गर्न लगाउने खालका थिए। प्रतिदिन एउटाबाट सुरु भएर अहिले त्यो तीनदेखि चारवटामा पुगिसक्यो।”