ई–आर्थिक, काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १५ लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाका वडा नं ६ र ७, बेशीसहर नगरपालिकाको वडा नं ११ का का स्थानीय बासिन्दाका साथै लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि छुट्याइएको सेयर बिक्री गर्न लागेको हो ।
एक सय रुपैयाँ प्रति कित्ता मूल्य अंकित रहेको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । आवेदन दिन समय छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्म तोकिएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले जारी गर्न लागेको साधारण सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आइपिओ ग्रेड–४ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको अवस्था कमजोर जनाउँछ।
लिवर्टीले लमजुङको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । ऋणको व्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले आयोजनामा ४ अर्ब ६३ करोड ६० लाख लागत लाग्ने अनुमान गरिएको छ । २१०६ वैशाख १४ गतेसम्म आयोजना अनुमतिपत्र रहेको कम्पनीले ८।२० वर्षमा लगानी फिर्ता हुने दावी गरेको छ ।