ई–आर्थिक, काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई शिष्टाचार भेटे गरेका छन् । भेटको क्रममा मन्त्री पोखरेलले राजदूत क्वात्रालाई स्वागत गर्दै उनको कार्यकालमा नेपाल र भारतबीचको पुरानो मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीच सांस्कृतिक¸ भौगोलिक¸ ऐतिहासिक र जनस्तरमा समेत अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै पोखरेलले दुई मुलुकबीच रहेको बहुआयामिक सम्वन्धलाई समयको परिवर्तनसँगै थप परिमार्जन गरी सुदृढ बनाउँदै जानुपर्ने खाँचो रहेको औँल्याएका थिए ।
भेटमा नेपाल र भारतका सेनाहरूबीच समेत अत्यन्त असल र सहयोगात्मक सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पोखरेलले नेपालको आर्थिक सामाजिक विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे ।
शिष्टाचार भेटका क्रममा नवनियुक्त भारतीय राजदूत क्वात्राले नेपाल भारतबीचको सम्वन्ध सरकार–सरकार बीचमा मात्र नभएर जनस्तरसम्म समेत अत्यन्त सुदृढ रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीच रहेको सुमधुर¸मैत्रीपूर्ण र पारस्परिक सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।