२०८३ साउन १२ मंगलबार

कोरोनाभाइरस : सङ्क्रमण फैलिने डरले इरानमा हजारौँ कैदी केही समयका लागि रिहा

ई आर्थिक    बिहिबार, फाल्गुन २२ २०७६
3K
Shares
कोरोनाभाइरस : सङ्क्रमण फैलिने डरले इरानमा हजारौँ कैदी केही समयका लागि रिहा

बीबीसी । धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए ।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ूसुरक्षासँग सम्बन्धित कैदीहरूलाई भने छाडिएको छैन । एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन् ।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ ‘सम्भवतः केही समयका लागि आज वा भोलि रिहा हुने’ बताएकी छन् । उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड–१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए । तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन् ।
रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो ।

आफूलाई लागेको आरोप उनले अस्वीकार गरेकी छन्। यूकेले पनि उनी निर्दोष रहेको दाबी गर्दै आएको छ । विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘हामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ ।’

विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड–१९ भएको पुष्टि भइसकेको छ । गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ । इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन् । पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ ।
इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि सङ्क्रमण देखिएको छ ।

त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि सङ्क्रमण भएको पुष्टि भएको छ । दुई सय ९० सांसदमध्ये २३ जनामा पनि सङ्क्रमण देखिएको छ । सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

विश्व वन्यजन्तु दिवसका अवसरमा मङ्गलवार वृक्षरोपण कार्यक्रममा बोल्दै सर्वोच्च नेता आयातोल्लाह खामेनेईले नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आह्वान गरे ।
उनले सबै सरकारी निकायहरूलाई स्वास्थ्य मन्त्रालयलाई आवश्यक सहायता गर्न पनि निर्देशन दिए ।

इरानी अधिकारीहरूले सङ्क्रमणको विवरण नलुकाएको उनको दाबी थियो । उनले अधिकारीहरूले पहिलो दिनदेखि नै ‘गम्भीरतापूर्वक र पारदर्शी रूपमा जानकारी दिएको’ भन्दै ‘सङ्क्रमण गम्भीर रूपमा फैलिएका केही देशले लुकाउने प्रयास गरेको’ आरोप लगाए ।

उनले इरानको सङ्क्रमण लामो समय नरहने पनि बताए । स्वास्थ्य मन्त्री सईद नमाकीले बुधवारदेखि देशभरि निगरानी अभियान सुरु हुने बताए । स्वास्थ्यकर्मीको टोली कोभिड–१९ भएको शङ्का लागेका र स्वास्थ्यसेवाको पहुँच नभएका समुदायसम्म पुग्नेछ । सोमवार इरानमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको एउटा टोलीले पनि त्यहाँका स्वास्थ्य अधिकारीहरूलाई सहायता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij