ई–आर्थिक, काठमाडौं । बिहिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यभेला थियो । प्रमुख अतिथि थिए, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । आफ्नो नानीदेखिको बानीलाई निरन्तरता दिदै ओली केही ढिलो गरी कार्यक्रमस्थल प्रबेश गरे । सहभागीपट्टि फर्केर अभिबादन गरे । न कसैको एउटा प्याट्ट ताली बज्यो न कसैले सुसेले । कान्ति हराएको अनुहार लिएर आयोजकले ब्यबस्था गरेको सोफामा बसे । घरिघरिसँगै रहेका माधब नेपालतिर टाउको तानेर गफ गर्थे ।
अतिथि दीर्घामा बसेका कोही पनि उनीप्रति बोल्न चाहेनन् । न कार्यकर्ताको आकर्षण न सहकर्मी नेताहरुको मानसम्मानबिच उनी कार्यक्रममा घोत्लिरहे । माधब नेपाल र प्रचण्डको भाषणप्रति अत्यन्त रुची लिएका कार्यकर्ता उनी बोल्न थालेपछि धमाधम बाहिरिए । यो त्यही समय थियो, जतिबेला नेकपा चरम बिबादमा फँसेको थियो । पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने बिषयमा भएको बिबाद उत्कर्षमा पुगेको थियो । बुधबारको सचिबालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान गरेको सर्बसम्मत निर्णयबिरुद्ध ओली उभिएपछि बिबादले उग्ररुप धारण गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित गर्ने यो कोटाबाट अहिले अर्थमन्त्री युवराज खतिवडा राष्ट्रिय सभाको सदस्य छन् ।
प्रधानमन्त्री ओलीले बैठकमा सहमति गरे पनि त्यसको दुई घण्टा बित्न नपाउँदै आफ्नै अध्यक्षतामा गरिएको निर्णय आफूलाई अमान्य भएको जानकारी गराएपछि यसले नेकपाभित्र बिबदको उछाल नै ल्याएको थियो । यस्तो बेला उनको सम्बोधन महत्वपूर्ण लाग्नु पर्ने हो । तर उनको सम्बोधनप्रति निकै ठूलो बिकर्षण देखियो । यसले ओलीको अलोकप्रियताको ग्राफ कतिसम्म उकालो लागेछ भनेर सजिलैसँग बुझ्न सकिन्थ्यो ।
कुनै बेला ओलीको चमक
कुनै जमानामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली चर्चाको शिखरमा थिए । भाषणमा उखान टुक्काको प्रयोग गरेर रसिलो, कर्णप्रिय र उठान गरेको बिषयको पुष्टि गर्ने उनको कला जादुमय झै थियो । बिपक्षप्रतिको चोटिलो प्रहार र शब्द बिन्यासले उनको भाषणको ओज अरुप्रति अतुलनीय लाग्थ्यो । उनको भाषण सुन्नकै लागि पार्टीका कार्यकर्ता मात्र होइन, अरु पार्टी समर्थक र सर्बसाधारणको घुइचो लाग्थ्यो । उनी सहभागी कार्यक्रम सँधै भीडभाड हुन्थ्यो । ओली निर्धारित कार्यक्रमभन्दा निकै ढिलो गरी कार्यक्रम स्थल आउँथे । उनी आउँदा तालीको गडगढाहट र सुसेलीले कार्यक्रम स्थल नै गुन्जयमान हुन्थ्यो । उभिएर सबैलाई हात हल्लाउँदा त्यस्तै हुटिङ हुन्थ्यो । उनी ढिलो आए पनि उपस्थितले मनमनै माफी दिन्थे र उनको रसिलो भाषण श्रवण गर्न लालायित बन्थे ।
मुलुकमा सशस्त्र द्वन्द्वको समयमा माओबादीप्रति उनको कटु बाण तत्कालीन एमालेजनले भन्दा काँगे्रसले मन पराउँथे । माओबादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि तिनका गलत क्रियाकलापको संघै डटेर आलोचना गर्थे, ओली । बोलीले नै माओबादीलाई ठेगान लगाएका ओलीले काँगे्रसलाई पनि त्यसैगरी तह लगाए । अब उनको उचाई राष्ट्रिय राजनीति निकै बढ्न थाल्यो । बिस्तारै उनको नेत्तृत्वम मुलुक सन्चालन भए हुन्थ्यो भन्ने जनमत बढ्न थाल्यो । उनले पार्टीभित्र पनि आशा जगाए र संसदीय दलको नेता र पार्टी अध्यक्ष दुबै हुन सफल भए ।
राजनीतिक तारतम्यता मिलाउन माहिर ओली आफ्नो कटु आलोचक माओबादीलाई नै समर्थन गराएर मुलुकको प्रधानमन्त्री बने । यो सफलता चानचुने थिएन । उनको यो खुबीको मुलुकभर वाहवाही भयो । यही बेला भारतले नेपालको आन्तरिक मामिलामा असन्तुष्टि प्रकट गर्दै अमानबीय नाकाबन्दी ग¥यो ।
ओली नेत्तृत्वको सरकार झुकेन, बरु डटेर सामना गर्न जनतामा आब्हान ग¥यो । यसले ओलीको उचाई मुलुकको औलामा गनिने राजनेताको रुपमा पु¥यायो । नाकाबन्दीबाट भारत पछि हट्यो, ओलीको चर्चा अन्तर्राष्ट्रियस्तरमा भयो । यही लोकप्रियताका बिचमा उनको सरकार ढल्यो । सिंगो मुलुकले उनीप्रति अन्याय ठान्यो । केही महिनापछि सम्पन्न संसदीय निर्बाचनमा ओलीलाई जनताले भारी बहुमत दिए । अब ओली दुई तिहाई जनमतका साथ सत्तासिन भए । लामो कालखण्डपछि मुलुकमा राजनीतिक स्थिरता हुने गरी एउटा पार्टीको दुई तिहाई नजिक सिट र सरकारको नेतृत्व ओलीले गरेपछि आम आशा र अपेक्षाको सगरमाथा नै निर्माण भयो । ओलीले हनिमुन अबधिसम्म जनताको आशा र अपेक्षाको पहाडलाई थेगिरहेका थिए । तर त्यसयता सबैका सामू छर्लङ्ग छ ।
काण्डै काण्डका पुलिन्दा
सगरमाथा बनेको जनअपेक्षा दुई बर्षमै धुलिसात हुनुमा यो अबधिमा ओलीे सरकारका काण्डैकाण्डका पुलिन्दा जिम्मेवार छन् । सरकार र ओली अहिले भ्रष्टाचार र दुराचारबाट घेरिएका छन् । सबभन्दा पछिल्लो ७० करोडले नपुगेको अडियो प्रकरणले त ओली, सरकार र नेकपालाई रसातलमै पु¥याई दियो । आजै मात्र अर्को काण्ड थपिएको बालिका खड्का राई काण्ड । ओलीका छोराजस्ता पुल्पुल्याएर १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाइका शेरधन राईलाई पति दाबी गर्दै अंशको माग गरी खड्काले काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेपछि दुराचारको ग्राफले अर्को खुड्किलो पार गरेको छ ।
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा उनका अति बिश्वास पात्र तथा पार्टीका महासचिब बिष्णु पौडेललाई जोगाउन उनले गरेको शक्तिको दुरुपयोगले आम जनताका बिचमा ओली र उनी नेत्रृत्वको सरकारप्रति घृणा पैदा गरेको थियो । यो प्रकरण सेलाउन नपाउँदै सेक्युरीटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनले नपुगेर थप एक अर्ब थप्न भन्दै गरेको उनको दाहिने हात मानिने गोकुल बाँस्कोटाको अडियोले बाँस्कोटाको पद त गयो नि ओली मुछिए ।
यती होल्डिङलाई सरकारी जग्गा कौडीको भाउमा २५ बर्षलाई लिजमा दिने प्रकरणले पनि ओली सरकार नराम्रोसँग नागिंएको थियो । कानूनै संशोधन गरी यती समुहलाई राज्य कोषमा ५ अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको जग्गा लिजमा दिएको काण्डले सत्ताधारी दल नेकपाभित्रै खैलाबैला पनि मच्चियो । यो अबधिमा वाईडबडी खरिद काण्डले पनि सरकारले ठूलो बदनामी कमायो । यो प्रकरणमा मुछिएका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्युपछि काण्ड सामसुम जस्तै भयो ।
निर्मल हत्या काण्ड पनि निकै चर्चित बन्यो । यो काण्डले निकास नपाइरहेको बेला तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन काण्डले देशको राजनीति तरंगित बन्यो । होली वाइन काण्डले पनि ओली सरकारलाई नराम्ररी बदनाम बनायो । विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फाउन्डेसले दिएको १ लाख डलर रासीको पुरस्कार स्वीकारेको भन्दै प्रधानमन्त्री ओली र नेकपाको धज्जी उडाइएको थियो ।
३३ किलो सुनकाण्डको मुख्य दोषी खोज्न ध्यान नदिने र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नदिने ओली चालाको पनि सबैले कडा आलोचना गरे । यातायात क्षेत्रको सिण्डिकेट तोड्ने घोषणा गरेको ओली सरकार त्यो अभियानबाट शंकास्पदढंगले पछि हटेपछि पनि ओली सरकारप्रति नकारात्मक धारणा झन बढेको थियो । यसरी ओली सरकार अहिले चरम अलोकप्रिय बनेको छ । दुई बर्षमै यति अलोकप्रिय होला भनेर सायदै कल्पना गरिएको थियो । यसमा मुलतः ओलीकै शैली, प्रबित्ति, दम्भ र अहमताले काम गरेको देखिन्छ ।