ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारभित्र विद्युत उत्पादन गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । आयोजना अनुगमनका लागि दोलखा पुगेका उनले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुसँग संयुक्त रुपमा छलफल गरी निर्माण सम्पन्न हुने कार्यतालिकाबारेमा छलफल गरेका थिए । उनी माथिल्लो तामाकोसी हाइड्रोपावरका अध्यक्ष पनि हुन ।
‘निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको चासो छ, जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले प्रतिवद्धताअनुसारका काम गर्नुहोला,’ घिसिङले भने ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ ।
विद्युत गृहका सम्पूर्ण उपकरणहरु जडान भई तयारी अवस्थामा रहेका छन्। प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ ।
त्यस्तै रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेसनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ। उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन संचालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ ।
२०७२ को भूकम्प र त्यसपछिका बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको आयोजनाले जनाएको छ ।