ई-आर्थिक, काठमाडौं । नेप्सेको कारोबार रकमले आइतबार नयाँ रेकर्ड कायम गरेर तहल्का मचाएको छ । यस दिन ३ अर्ब ६० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यो शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार हो ।
यस दिन नेप्से परिसूचक ६९.५६ अंक अर्थात ४.८५ प्रतिशतले बढेर १५०४ अंकमा बन्द भएको छ । यो सूचक २६ महिनायताकै उच्च बिन्दु हो । यस दिन नियमित कारोबार हुने १७८ कम्पनीको ३० हजार ४५६ पटकको कारोबारमा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँ बराबरको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
व्यापार उपसमूहसँगै बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरले बढेपछि समग्र नेप्से बढ्न पुगेको हो । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.२५ प्रतिशत र बैंकिङ्ग उपसमूहको ७.१५ प्रतिशत बढेको छ ।
सेयर बजारमा अनुदार देखिएका अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने हल्लासँगै आइतबार सेयर बजारले १५ सय अंक पार गरेको छ । खतिवडासँग जोडिएर राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि उनको ठाउँमा बामदेव गौतमलाई ल्याउने सञ्चार माध्यममा समाचार समेत सार्वजनिक भएको छन् ।
राष्ट्रियसभाबाट हटेपछि उनी स्वतः मन्त्रीबाट पनि हट्ने छन् भन्ने विश्लेषणले काम गर्दा बजारले ३० महिनाअघिको उचाइ कायम गरेको हो । सामान्यतया सेयर बजारमा ‘बढेको बेला बेच्ने र घटेको बेला किन्ने भन्नु पर्छु भन्ने मान्यता बजारले राख्छ । माग बढेपछि स्वभाविक रूपमा सम्पत्तिको मूल्य बढ्छ । केही सातादेखि छिटपुटबाहेक सेयर बजार निरन्तर बढि नै रहेको छ ।