ई–आर्थिक, काठमाडौं । विश्वलाई नै स्तव्ध पार्ने गरी फैलिएको कोरोना भाइरसको विरामी एक पछि अर्को मुलुकमा देखा पर्न थालेको छ । यसैक्रममा नेपालमा पनि त्यस्तै लक्षण भएको ठूलो संख्यामा विरामी फेला परेका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई पत्राचार समेत गरेको छ ।
सो जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएको हो । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले हालसम्म २०१ जनामा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको जानकारी दिए ।
‘हामीले यसको लक्षण देखिने वित्तिकै मन्त्रालयलाई पत्र देखेर जानकारी गराएका थियौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर मन्त्रालयले आफूहरुसँग सीमित स्वास्थ्यकर्मीमात्रै भएको र अहिले नआत्तिनु उतै म्यानेज गर्नु भन्ने जवाफ दियो।’ गाउँपालिकाले अत्यन्त जरुरी पत्र भन्दै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ । तर, मन्त्रालयले भने आफूहरुसँग जनशक्ति नभएको जवाफ दिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

अहिले गाउँपालिकाले मात्रै उपचार गरिरहेको उनको भनाइ थियो । आफू विहानैदेखि मास्क, औषधिलगायतका समाग्री लिएर आफू अहिले पनि प्रभावित क्षेत्रमा रहेको उनको भनाइ छ। करिब १०० जना नर्सहरुले आकस्मिक सेवा दिइरहेका छन् ।
हाल २०१ जनामा यो रोग देखिए पनि चीनसँग सीमा जोडिएको जिल्ला भएकाले यसको रोगी अझै बढ्न सक्ने देखिएको स्थानीय अगुवाहरु बताउँछन् ।