२०८३ साउन ९ शनिबार

किमाथांका भन्सार १८ वर्षदेखि सदरमुकाममा, पाँच दिन हिँडेर राजश्व बुझाउनुपर्ने बाध्यता

ई आर्थिक    सोमबार, माघ २७ २०७६
6K
Shares
किमाथांका भन्सार १८ वर्षदेखि सदरमुकाममा, पाँच दिन हिँडेर राजश्व बुझाउनुपर्ने बाध्यता

ई–आर्थिक, संखुवासभा। दुई दशकदेखि किमाथांका सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमै रहँदा सेवाग्राहीले सास्ती पाउने गरेका छन् । पाँच दिन हिँडेर राजश्व वुझाउनपर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । भन्सार कार्यालय सदरमुकाम बसेपछि सेवा झन्झटिलो भएको सेवाग्राहीको भनाइ छ ।

किमाथांका नाकाबाट पशु चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय, जुडिबुटीलगायत सामान आउँछ । यो नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको सीमा भन्सार कार्यालयले जनाएको छ । भोटखोला गाउँपालिकाको किमाथांका विकट र दुर्गम स्थान भएकाले सदरमुकाम खाँदबारीभन्दा चीनसँग भर पर्नुपर्छ ।

तिब्बतबाट ल्याएको चौरी पुच्छर सीमामा राखेर भन्सार तिर्न हप्ता दिन लगाएर खाँदबारी आउनु परेको भोटखोला गाउँपालिका–२ का सोप्पा भोटले बताए । उनले भन्सार कार्यालय सदरमुकाममा भएकाले रु तीन हजार २५४ आयात भन्सार शुल्क तिर्न आउँदा रु १५ हजार खर्च भएको बताए ।

उनले निम्न आयका व्यापारीलाई सामान्य व्यापार गर्न पनि धेरै दुःख पाउनु परेको बताए । तिब्बतबाट ल्याइएको चौरी पुच्छर तराईका सुनसरी, मोरङ र झापाका बजारमा लगेर बिक्री गर्ने गरेको उनले बताए ।

भन्सार कार्यालयले आवतजावत गर्न एक हप्ताको प्रज्ञापनपत्र दिने गरेको छ । त्यस पत्रमा उल्लेख भएको विवरण जिल्ला प्रहरीले किमाथांका सीमा प्रहरी कार्यालयलाई जानकारी गराएपछि सीमा प्रहरीले सामग्री आयात तथा निर्यात गर्न दिने गरेको छ । राजश्व जिल्लामा बुझाए पनि प्रज्ञापनपत्र सीमामा नै दिने व्यवस्था मिलाएर आयात तथा निर्यात हुने सामग्रीको अनुगमन गरिनुपर्ने स्थानीयको माग छ ।

गाउँपालिकाका किमाथांका, चेपुवा, हटिया, च्याताङ, चेपुवा, रिदाक, थुदामलगायतका कैयौ घर परिवारले किमाथांका नाकाको भर पर्नुपर्ने बाध्यता छ । यो नाका अहिले कोराना भाइरसका कारण गत माघ ५ गतेदेखि बन्द छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij