ई–आर्थिक, काठमाडौं । कुखुराको मासुको मूल्य आकाशिएको बेला कुखुरा पालक किसानले भने कुखुराको मूल्य घटाएका छन् । किसानले बुधबार प्रतिकेजी १० रुपैयाँ मूल्य घटाएका हुन् । कुखुरा पालक किसान संघका अध्यक्ष भोजराज दाहालले कुखुराको मूल्य घटाइएको जानकारी दिए । उनले २७० रुपैयाँ प्रतिकेजीबाट मूल्य घटाएर २६० कायम गरिएको बताए । अब खुद्रा कुखुराको मासुमा बजार मूल्य भन्दा १५ रुपैयाँ कम हुनुपर्ने छ ।
‘खासमा मूल्य नियन्त्रण र सबै कुरा निगरानी सरकारले गर्नुपर्ने हो, तर, हामी आफैले गरेका छौं । तर दाना उद्योगसँग हामीले मूल्य घटाउन कुरा गरेका थियौं ।’ अध्यध्क्ष दाहालले भने ‘आफूहरुले दाना उद्योगलाई मूल्य घटाउनका लागि ३ दिनको अल्टिमेटम पनि दिएका छौं ।’
हाल कुखुराको मासुको खुद्रा उपभोक्ता मूल्य प्रतिकेजी ४०० रुपैयाँ कायम रहेको छ । तर कुखुरापालक किसानले कुखुराको मूल्य घटाएसँगै मासुको पनि मूल्य घटाउनु पर्ने उपभोक्ताले माग गरेका छन् ।