काठमाडौँ । चीनबाट फैलिन सुरू भएको कोरोना भाइरसको समस्या भयावह बन्दै गएको छ । चीनमा मात्र आइतबार बिहानसम्म ज्यान जानेको संख्या ३०४ पुगिसकेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १४ हजार ३ सय ८० जना संक्रमित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
वुहान शहरबाट हालसम्म ३ सय ३० जना संक्रमितहरु पूर्ण उपचारपछि घर फर्किएको चाइना डेलीले जनाएको छ । अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई निगरानीमा राख्न थालेका छन् भने रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।
विश्वका धेरैजसो देशहरुले आफ्ना सीमा नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन् । नेपालले पनि झापा, तातोपानी र रसुवागढी नाकामा कोरोना भाईरसको जाँच डेक्स स्थापना गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।
बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।