ई–आर्थिक, काठमाडौं । प्राणघातक कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या दिन दिनै बढिरहेको छ । नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त भाइरसबाट ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ।
भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन् ।
चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।
अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।