ई–आर्थिक, काठमाडौं । सरकारले उखु किसानहरुको रकम नतिर्ने तीनवटा चिनी मिललाई प्रारम्भीक कारवाही गरेको छ । सो कारवाही स्वरूप मन्त्रालयले तीनवटा चिनी मिलको खाता रोक्का गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले अन्नपुर्ण, इन्दिरा र लुम्बीनी सुगर मिल्सको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरिएको जानकारी दिएको छ ।
मन्त्रालयले अन्नपुर्ण, इन्दिरा र लुम्वीनी सुगर मिल्सको आर्थिक कारोबार अनुसन्धानका लागि आन्तरिक राजस्व विभागमा समेत पत्रचार गर्ने निर्णय गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार लुम्बिनी सुगर मिलका संचालक मनिष अग्रवालको संचालन गरेका थिए। उनको मृत्यु भइसकेको र मिल अव कसले संचालन गर्नेबारे कुनै निर्णय भएको छैन । यसैगरी अन्नपुर्ण र इन्दिरा सुगर मिल राकेश अग्रवालको हो । हालसम्म पनि ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
उद्योग मन्त्रालय गत सोमबार गृहमन्त्रालयलाई सम्पर्कमा नआएका सुगर मिलका सन्चालकलाई सम्पर्कमा ल्याउनका लागि आग्रह गर्दै पत्र समेत पठाई सकेको छ ।
माघ ७ गतेसम्ममा उखु किसानलाईसम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरे पनि किसानले सबै रकम पाउन सकेका छैनन् ।