ई–आर्थिक, काठमाडौं । हिमपातका कारण रसुवागढी नाका अस्तव्यस्त भएको छ । हिमपातकै कारण रसुवा–रसुवागढी नाकामा बिहीबारदेखि आयात निर्यात अवरूद्ध हुनका साथै ठप्प भएको छ ।
चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयात निर्यात रोकिएको व्यवसायीले जानकारी दिएका छन् । अहिले पनि त्यहाँ बाक्लो हिउँ परिरहेको स्थानीय सुनाम लामाले जानकारी दिएका छन् । सडक तथा सामाग्री लोड गर्ने ठाउँमा हिमपात भएका कारण बिहीबार दिउँसोदेखि सवारी साधन सञ्चालन हुन नसकेका लामाले जानकारी दिए ।
व्यापारी राजन पौडेलका अनुसार त्यहाँ अहिले ६० वटा गाडी लोड हुने तयारीमा रहेका छन् । हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङ लगायतका स्थानमा चिनियाँ पक्षले सवारी सञ्चालन गर्न नदिएको व्यवसायी पौडेलले जानकारी दिए । बाक्लो हिउँका कारण लोड गरिएका आफ्नो केही कन्टेनर रोकिएका ती व्यवसायीले बताए । हिउँ पर्ने क्रम रोकिए पछि र बाटो सफा भएपछि पुनः आयात निर्यात सुचारू हुने बताइएको पनि उनले बताए ।