२०८३ साउन ९ शनिबार

आजदेखि बैंकहरुमा ‘गो–एएमएल’ लागू, पैसा जम्मा गर्ने व्यक्तिले पनि अब ३ पुस्ते विवरण भर्नुपर्ने

ई आर्थिक    बुधबार, माघ १ २०७६
14K
Shares
आजदेखि बैंकहरुमा ‘गो–एएमएल’ लागू, पैसा जम्मा गर्ने व्यक्तिले पनि अब ३ पुस्ते विवरण भर्नुपर्ने

ई–आर्थिक, काठमाडौँ। वाणिज्य बैंकहरुले बुधबारदेखि गो–एएमएल प्रविधि लागु गरेका छन् । गो–एएमएल प्रविधि लागु भए सँगै आजदेखि अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते विवरण चाहिने भएको छ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को नियमअनुसार राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई माघ १ गतेदेखि अनिवार्य रुपमा गो–एएमएल सफ्टवेर राख्न निर्देशन दिएको थियो। सोहि निर्देशन अनुसार आजबाट सबै बैंकहरूले अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते विवरण लिनेछन्।

वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकले जनाएको छ ।

यो सिस्टम राखे पछि बैंकिङ केहि झण्झटिलो हुने बैंकका ग्राहकहरु बताउछन् । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ । त्यतिमात्रै होइन, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ।

यो प्रणाली प्रायः विश्वका सबै देशको बैंकिङ क्षेत्रमा लागू गरिएको छ। नेपालमा २ वर्ष अगाडिबाट नै राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा गो–एएमएल प्रणाली लागू गर्ने तयारी गरिरहेको थियो।

तोकिएको समयमा गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाखदेखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने राष्ट्र बैंकको भनाइ छ।

के हो गो–एएमएल ?
गो–एएमएल एउटा सफ्टवेयरको नाम हो । सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले यो प्रणाली प्रायः विश्वका सबै देशको बैंकिङ क्षेत्र तथा वित्तीय संस्थाहरुमा लागू गरिएको छ। उक्त सफ्टेवयर कार्यान्वयन भए पश्चात बैंकहरुले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यो सिस्टम लागु भए अवैध रकम कसैले जम्मा गर्न नसक्ने र गरिहाले उसलाई सम्पत्ति शुद्धिकरणले सहजै पहिचान गरी कारबाही गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij