ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं बार्षिक साधारण सभा र अधिवेशनको समुद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले साधारण सभाको पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताइन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताएकी हुन् ।
राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा लागू गरेर जानुपर्ने बताइन् । राज्यले सन् २०३० सम्ममा गरीबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरीबी न्यून गर्न सहकारीले भूमिका खेल्नुपर्ने धारणा राखिन् ।
बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या अत्यधिक बढी भएकाले संस्थाको सङ्ख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र विस्तार गर्ने अभियान लाग्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपूर्ण क्षेत्र भएकाले गरीबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी छ भने ।

साधारणसभाको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले गर्नुभएको छ । अध्यक्ष बडालले साधारणसभामा आर्थिक बर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । साधारणसभा र अधिवेशनको कार्यक्रम आज र भोली चल्ने छ ।
राष्ट्रिय सहकारी महासंघको १८६ औं सञ्चालक समितिको बैठकले टुंग्याएको २६५ राष्ट्रिय प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति चयनसँगै महासंघमा अध्यक्ष बडाल बाहिरिने छन् ।

अब महासंघमा ३ पदाधिकारी मध्ये वरिष्ठ उपाध्यक्ष पद महिलाका लागि तोकिएको छ । अध्यक्ष र उपाध्यक्ष खुल्ला रहनेछ । यस्तै गण्डकी र कर्णाली प्रदेशबाट पनि महिलाको प्रतिनिधित्व हुने निर्णय भएको छ । त्यस बाहेक २ जना खुल्ला महिला महासंघको सञ्चालकमा जानेछन् । यस्तै लेखा समितिमा १ जना महिलाको व्यवस्था गरिएको छ ।

२२ सदस्यीय सञ्चालक समिति ५ र ३ सदस्यीय लेखा समितिमा १ गरी जम्मा ६ जना महिलाको सहभागिता हुने गरी निर्वाचन निर्देशिका पारित भएको महासंघले जानकारी दिएको छ ।
पर्वतबाट राष्ट्रिय प्रतिनिधि बनेका लामिछानेको हृदयघातबाट निधन
यसैबीच राष्ट्रिय सहकारी महासघंको २७ औ बार्षिकसभामा भाग लिन आएका पर्वत जिल्ला सहकारी सघकाबाट राष्ट्रिय प्रधिनिधी महेन्द्र जङ लामिछानेको निधन भएको छ । सभामा भाग लिन जाँदै गर्दा भएको उनको निधनले सहकारी क्षेत्रलाई नै स्तब्ध बनाइदिएको छ । पर्बतबाट बानेश्वर आइपुग्दै गर्दा हृदयघातबाट उनको निधन भएको थियो । हृदयघात भएका लामिछानेलाई हस्पिटल पुराउदा पुराउदै बाटैमा मृत्यु भएकोे महासंघकी उपाध्यक्ष ओमदेबी मल्लले जानकारी दिनुभयो ।
उनको दुखद् निधनले आफूलाई स्तब्ध तुल्याउनुका साथै दुख लागेको भन्दै उपाध्यक्ष मल्लले आफ्नो फेसबुक पेजमा पोष्ट गर्नुभएको छ । मल्लले फेसबुकमा पोष्ट गरेको शोक सन्देशमा ‘मृतक आत्माको चिरशान्तिको कामना गर्दै सम्पुर्ण परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु’ भन्नु भएको छ ।
