२०८३ साउन ११ सोमबार

पोखरामा नेपालकै ठूलो र सुविधासम्पन्न फिस्टेल ड्रिमपार्क बन्दै, नयाँ बर्षदेखि सञ्चालनमा आउने

ई आर्थिक    बुधबार, पौस ९ २०७६
42K
Shares
पोखरामा नेपालकै ठूलो र सुविधासम्पन्न फिस्टेल ड्रिमपार्क बन्दै, नयाँ बर्षदेखि सञ्चालनमा आउने

ई–आर्थिक, पोखरा । पोखरामा नेपालकै ठूलो र सुविधासम्पन्न फिस्टेल ड्रिमपार्क बन्ने भएको छ । निर्माणाधीन भइरहेको उक्त फिस्टेल ड्रिमपार्क नयाँ बर्षदेखि सञ्चालनमा आउने भएको छ ।

पोखरा १७ सीतापाइलामा आयु इन्टरटेनमेन्ट्स प्रालिले निर्माण गरिरहेको उक्त ड्रिमपार्क बच्चादेखि वृद्धसम्म सबैलाई दिनभरि मनोरञ्जन दिने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको हो । ६५ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क नेपालकै ठूलो र सुविधासम्पन्न छ । यसको निर्माणसँगै प्राकृतिक सौन्दर्यताले भरिएको पोखरामा अर्को सौन्दर्य थपिने भएको छ ।

सहरी क्षेत्रभित्रै शान्त र मनोरम ठाउँ तथा सबै उमेरकालाई दिनभर मनोरञ्जन दिन सक्ने यसको मूख्य बिशेषता भएको कम्पनीका अध्यक्ष कदम केसीको भनाई छ ।

 

 

भिजिट नेपाल २०२० को स्वागतमा तम्तयार रहेको पोखरामा यो नयाँ र आकर्षक १ गन्तव्य थपिएको ड्रिमपार्कका प्रबन्ध निर्देशक सुशिल खरेलले जानकारी दिए । यो गन्तब्य ढुंगे साँघु मेला लाग्ने ठाउँ नजिकै बनिरहेकाले पनि उपयुक्त स्थान समेत रहेको उक्त ड्रिमपार्कका प्रबन्ध निर्देशक खरेलले बताए ।

यसका लगानीकर्ताहरु जोश, जाँगर र सिर्जनात्मक क्षमतायुक्त युवा छन् । यस कम्पनीको अध्यक्ष कदम के.सी रहेका छन् भने प्रबन्ध निर्देशकको जिम्मेवारी सुशिल खरेलले सम्हालेका छन् । त्यस्तै नारायणप्रसाद पौडेल फाइनान्स निर्देशक, हिराबहादुर केसी बजार निर्देशक, मदनकुमार श्रेष्ठ प्राविधिक निर्देशक र भरत गौतम साइड इन्चार्जको जिम्मेवारी तीब्र गतिमा काम अघि बढाईरहेका छन् । अन्य व्यवसाय समेत सञ्चालन गरिरहेका उनीहरू हाइड्रोपावरका लगानीकर्ताहरु समेत हुन ।

पोखरामा पर्यटनको संभाबना सदाबहार रहेकाले नयाँ ढंगले पर्यटन क्षेत्रमा हात हालेको प्रबन्ध निर्देशक खरेलले जानकारी दिए । यो ड्रिमपार्कको २०७५ वैशाख १ मा पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिलान्यास गरेका थिए ।

यो पार्कको अनुमानित लागत करिब २५ करोड रहेको छ । यस परियोजनाको लागि सिटिजन्स् बैंकले ऋण दिने संझौता भएको भइसकेको छ ।

पार्कले मनोरञ्जन पारखीको मन जित्ने मात्रै नभई राज्यलाई समेत रोजगारी दिनेछ । यो ड्रिमपार्कले करिब २ सयले प्रत्यक्ष रोजगारी पाउने र अप्रत्यक्षरुपमा हजारको हाराहारीले रोजगारी पाउन प्रबन्ध निर्देशक खरेलले जानकारी दिए । ड्रिम पार्क पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने दाबी समेत खरेलले गरे । मनोरञ्जनको क्षेत्र यो एकदमै नयाँ अवधारणा भएको उनले बताए ।

पार्कभित्र स्केटिङको मज्जा पनि लिन सकिन्छ भने ३०/३५ जना अट्ने ८ डि सिनेमा घर पनि उपलब्ध हुने छ । पार्कमा छुट्टै वाटर जोनको ब्यबस्था गरी त्यहाँ बच्चा, युवा र वयस्कले फरक फरक तवरले मज्जा लिन मिल्ने इभेन्टहरु व्यवस्थापन गरिनेछन् । पार्कमा वाटर स्फ्लास, वाटर स्लाईडको निर्माण गरिने छ भने २० मिटर अग्लो फ्रिफल, फेमिली रोलर कोस्टर ड्राइ पार्कका मुख्य आकर्षण हुने प्रालिका साइड इन्चार्ज भरत गौतमले बताए । पार्क परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइने भएको छ ।

त्यसैगरी पार्कभित्र निर्माण गरिने ७ ओटा पुललगायतका इभेन्टका संरचना बन्दै छन् भने किड्स जोनका लागि ठाउँ तयार भइसकेको छ । वाटर पार्कभित्र लेजी रिभर, फेमिली स्लाइड पुल, बच्चाको पुल, वेभ पुल रहने छन् । वेभपुलमा समुद्रबाट निकै टाढा रहेको नेपालभित्रै नेपालीले समुद्रको झल्को आउने छालको मजा लिन पाउने उक्त कम्पनीका प्राविधिक निर्देशक मदनकुमार श्रेष्ठले बताए ।

वयस्कका लागि बनेको स्लाइड पुल करिब १२ मिटर अग्लो हुनेछ । यसमा माथिसम्म हिडेर जाने र स्लाइडबाट तल आइपुगिने छ । त्यस्तै अर्को आकर्षण टोर्नाडो पुल हुनेछ । भुमरी जस्तो यो पुलले मनोरञ्जन पारखीका लागि अर्को विशेष आनन्द दिनेछ । वाटर जोनमै पुलविहीन सोफा स्लाइड पनि बन्ने ड्रिमपार्कका बजार निर्देशक हिराबहादुर केसीले जानकारी दिए ।

त्यस्तै बच्चाहरुलाई लक्षित गरी ३ देखि ८ वर्षका बच्चाका लागि हुने किड्स प्ले जोन बनेको छ । इन्डोर गेमका लागि आवश्यक सामान एकमुष्ठ चीनबाट ल्याउने तयारी भइरहेको कम्पनीका वित्त निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए । उक्त ड्रिमपार्कले हिउँद याममा आगन्तुकलाई मनोरञ्जन दिन ड्राइ पार्क पनि बनाइरहेको छ । यो पार्कमा १२÷१५ थरि इभेन्ट हुने वित्त निर्देशक पौडेलले बताए ।

९/१० मिटर अग्लो पिङ, फेमिली रोलर कोस्टरसँगै सुपर वाटर स्पासको पनि व्यवस्थापन गरिने भएको छ । यो जाडोमा मज्जा लिन मिल्ने अर्को इभेन्ट हो । त्यस्तै सुपर वाटर स्पासको निर्माण भइरहेकोे छ । यो पानीमा तलमाथि गर्ने तर नभिजिने खालको खेल विशेष इभेन्ट हो ।

पार्कमा आधा कास्की र आधा बाहिरका आन्तरिक पर्यटक ल्याउने कम्पनीको योजना छ । यहाँ २ देखि ३ हजारलाई एकै पटक इङ्गेज गर्न सकिने छ । उक्त पार्कमा घुम्नको लागि अनलाइन बुकिङको समेत व्यवस्था हुनेछ । फनपार्क परिसरमै बैंकको एटिएम मेसिन राखिने छ ।

यो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आयु इन्जिनियरले दिनरात तीब्र गतिमा काम गरिरहेको छ । यही गतिमा काम गर्दा समयमै परियोजना सम्पन्न यो समग्र परियोजना हेरिरहेका इन्जिनियर मधुकर गर्गले बताए ।

यो फनपार्कले भिजिट नेपाल २०२० लाई सफल बनाउन विशेष योगदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक खरेलले विश्वास लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij