ई–आर्थिक, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको १९ औं वाषिर्क साधारण सभा सम्पन्न भएको छ। पुस १ गते सम्पन्न उक्त सभाले बोनस र नगद गरी १०२.६३ प्रतिशत र अन्तरिम लाभांश ६८.४२ प्रतिशत गरी कुल १७१ प्रतिशतको लाभांश प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत वोनस शेयर प्रस्ताव पारित गरेको हो ।
यसैगरी कम्पनीले आ.व.२०७५।०७६ मा संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा प्रतिशेयर अर्थात ६८.४२ प्रतिशत (६८.४२ रुपैयाँ) गरी कूल १७१.०५ प्रतिशत वितरण गरेको थियो । यसका साथै, बढी लाभांश घोषणा गर्ने नेपालका सुचीकृत कम्पनी मध्ये उत्कृष्ट भएको कम्पनीले जनाएको छ ।
१९ वर्ष अगाडि स्थापना भएको उच्च स्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामापारिवारिक विरासत कायम रहेको छ । यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको र नेपालमा १० लाख कार्टुनभन्दा वढि प्रति वर्ष विक्री हुने एक मात्र व्राण्ड रहेको कम्पनीको दावी छ।
हिमालयन डिष्टिलरीले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाख रुपैयाँको संचालन आम्दानी हासिल गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख रुपैयाँको खुद मुनाफा आर्जन गरेको छ । विगत ५ वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
यो कम्पनी सरकारलाई उच्चतम् राजश्व योगदान गर्ने उत्पादन मूलक उद्योग मध्ये एक भएको जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका कार्यकारी निर्देशक शसिन जोशीले बताएका छन् । जस अनुसार यस उद्योगले गत आर्थिक वर्षमा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख रुपैयाँ राजश्व दाखेला गरेको कम्पनीले जनाएको छ ।