ई–आर्थिक, काठमाडौं । मंसिरको अन्तिम सातामा हिमाली र उच्च पहाडी क्षेत्रमा परेको हिमपातले त्यस क्षेत्रका गरिब जनता निकै प्रभाबित बनिसकेका थिए । पुसभित्रने बित्तिकै मौसमले तराईमा शीत लहर चल्ने संकेत गर्दै थियो । यही बेला दुई तिहाई जनमतको कम्युनिष्ट सरकारको क्याबिनेट बैंठक बस्यो । सञ्चार माध्यमबाट गरिब तथा निमुखा जनताहरुले पनि मन्त्रीहरुको बैठक बसको थाहा पाए । यो बेला बसेको मन्त्रीपरिषदको बैठकले चिसोबाट आफ्नो जीबन रक्षाका लागि केही राहतका कार्यक्रम ल्याउला भन्ने उनीहरुमा आशा पलायो । उनीहरुको आशा स्वभाबिक किन थियो भने गरिब, निमुखा जनताको पार्टी भनेर दाबी गर्ने कम्युनिष्ट पार्टी गरिब जनताकै दुई तिहाई मत पाएर सत्तामा छ । यो सरकारले आफ्नो पक्षमा काम गर्ला भन्ने बर्गीय जनताले अझै आशा गरिरहेका छन् ।
अघिल्लो जाडोमा कति आफन्तले कठांग्रिएर अकालमै ज्यान गुमाए पनि बचेका उनीहरुलाई यो पुस र माघ काटे बाँकी १० महिना बाँचिने आशा छ ।
हिमपात, शीत लहर प्राकृतिक प्रकोप भएकाले यसमा उनीहरुको केही जोर चल्दैन र जहिले पनि जाडो मैसममा उनीहरुको निरीह नजर सरकारतिर सोझिन्छ । यसपाली पनि गरिब तथा निमुखा जनताको आशा र भसोसाको नजर कम्युनिष्ट सत्तातिर सोझियो । तर दुर्भाग्य सरकारले ती गरिबका आशामाथि तिरस्कार गर्यो र अर्बपतिलाई सुबिधामाथि सुबिधा दिन केन्दित भयो ।

गरिबले चिसोबाट ज्यान बचाउन सरकारतिर आश गरिरहेको बेला सरकारको ध्यान भने अर्बपति कम्पनी गोकर्ण रिसोर्ट सन्चालक कम्पनी यति होल्डिनलाई खर्बै फाइदा गराउनेतिर केन्द्रित भयो ।
हिमपातबाट प्रभाबित गरिब र शितलहरबाट ज्यान गुमाउन सक्ने गरिबप्रति सरकारको संबेदना शून्य नै देखियो । बरु पार्टीकै शीर्षस्थ नेताहरु र आम जनताको बिरोधका बाबजुद यति कम्पनीलाई राज्यको अर्बौ सम्पत्ति खर्बै मूल्यको २८ सय रोपनी जग्गा कौडीको भाउमा २५ बर्षलाई बेच्नतिर पो लाग्यो । त्यो पनि उसको पहिलेको लिज अबधि सकिने ६ बर्षअघि नै ।
एक हप्तापछि चल्ने शितलहरबाट गरिब तथा निमुखाको ज्यान बचाउनेतिरभन्दा अर्बपतिलाई थप अर्बौं नाफाको सुनिश्चितता सरकारको मूल प्राथमिकतामा परेपछि सिंगो मुलुक अहिले अचम्मित छ । के अर्बपतिको नाफाभन्दा गरिबको ज्यान कम्युनिष्ट सरकारलाई प्यारो भएको हो ?
६ बर्ष अबधि बाँकी रकेको कम्पनीलाई ६ दिनपछि सुबिधा दिएर भए पनि कम्युनिष्ट सत्ता चिसोबाट प्रभाबितको सुरक्षामा केन्द्रित हुनु पर्ने होइन ? यस्तै चर्चा छ, अहिले मुलुकभर । अब जनता मर्न थालेपछि लोक लाज पचाउन केही गरेजस्तोमा मात्र यो कम्युनिष्ट सत्ता पनि सीमित हुनेछ ।
समयमा केही राहतका कार्यक्रम ल्याएको भए तराई, हिमाल र पहाडका चिसो प्रभाबित गरिब जनताको जीबन रक्षा हुन सक्थ्यो । तर जब जाडोले मरेको समाचार आउँछ अनि केही थान थोत्रा कम्बल लिएर सरकारको हेलिकोप्टर यात्रा सुरु हुन्छ । अनि दुनियाको अगाडि देखाउन आफ्ना दानापानीले पोषित भएकालाई प्रयोग गरेर सामाजिक सन्जालमा सरकारले राहत बितरण गरयो भन्दै प्रचार गर्न लगाउँछ ।

अहिले हिमाली, उच्च पहाडी र तराईका २० जिल्लाका गरिब जनताको जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घर बाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसोले तराईका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । फुसले छाएका कच्ची घर, लगाउने लुगा र ओढ्ने, ओछ्याउने नभएकाले गरिब समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिसोले बिरामी, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । स्थानीय प्रशासनले बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउने उपायबाहेक अरु गर्न सकेको छैन । सरकारकै कुनै कार्यक्रम नभएपछि प्रशासनले के नै के हो र ? दाउरा किन्ने पैसा नहुने जनतालाई टेलिभिजनबाट मन्त्रीहरुले अब आगो ताप्नुहोस भन्छन् ।
एकसरो लुगा नहुनेलाई बाक्लो लुगा लगाउन र न्यानो कपडा ओढेर सुत्न सरकारले सूचना जारी गर्छ । केही थान एनजीओ आईएनजीओ केही सीमित कम्बल बोकेर फोटो खिचाउन प्रभाबित क्षेत्रतिर पुग्छन् पनि । तर यसले कुनै समाधान दिदैन । बर्षेनी हुने हिमपात र शितलहरका लागि उपयुक्त बेलामा प्रभाबित हुने स्थानहरुमा राहत कार्यक्रम लगे यसबाट गरिब जनतालाई सजिलै बचाउन सकिन्छ । यसको लागि सरकार जनमुखी हुनुपर्छ । अहिले त सरकार अर्बपतिमुखी छ, त्यसैले यतातिर उसले सोच्ने समय नै पाउँदैन।
पश्चिम तराईतिर शीतलहर शुरु भइसकेको छ । बाँकेलगायतका पश्चिम तराईमाअधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दा अचाक्ली जाडोको महसुस भएको छ । दिनभर चिसो सिरेटो चलेपछि महत्वपूर्ण काममा मात्र सर्वसाधारण बाहिर निस्कने गरेका छन् ।
चिसोले बिरामी, बालबालिका र बृद्धबृद्धालाई बढी समस्या भएको छ। मुटु, श्वासप्रश्वास, बाथरोगका बिरामीलाई समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले बताए ।