ई–आर्थिक, काठमाडौं । आफ्नो बैंकको बारेमा जानकारी राख्ने उद्देश्यले बैंकको वेबसाइड खोलेर हेरेका लक्ष्मी बैंकका एक सेयरधनीले वेबसाइडमा अध्यक्ष नै नदेखेपछि छक्क परे । लगतै बैंकमा सम्पर्क गरेर हाम्रो बैंकको अध्यक्ष को हुनुहुन्छ भनेर सोधे । शम्भु आचार्य अध्यक्ष भएको जबाफ पाएपछि उनी झनै छक्क परे ।
बेवसाइडमा शम्भु आचार्य नामक ब्यक्ति नै छैन । वेभसाइडमा सन्चालक भनेर पाँच जनाको फोटोसहित नाम राखिएको छ । अब उन्लाई बिभिन्न तर्कना आए । सबै बैंकले गर्बको साथ अध्यक्षसहित सन्चालक समिति वेभसाइडमा राखेका छन् भने हाम्रो बैंकले अध्यक्ष किन गोप्य राख्नुप¥यो ? सार्बजनिक गर्न नमिल्ने ब्यक्ति कसरी अध्यक्ष हुन सक्छन् ? यहाँ केही गढबढी त छैन ? यही सोचेर उनले जिम्मेवार मान्छेसँग बुझ्ने प्रयास गरे । उन्ले पनि त्यस्तै अस्पष्ट र अमिल्दो कुरा गरेपछि ती शेयरधनीलाई शंकामाथि उपशंका थपियो ।
बैंक किन यति अपारदर्शी भएको उनले भेउ पाउन सकेनन् । उनले यसपछि मिडियाको सहयोग लिने बिचार गरेछन् र ई–आर्थिक अनलाईनको कार्यालयमा सम्पर्क गरे । उनले सबै कुरा बताएपछि भने ‘मैले आफ्नो बैंकको अध्यक्ष पत्ता लगाउन सकिन तपाईहरुले सहयोग गरिदिनु प¥यो ।’ सूचना पाएपछि ई–आर्थिकले पनि अध्यक्षको बारेमा लक्ष्मी बैंकलाई सोध्ने प्रयास ग¥यो । ती सेयरधनीलाई जे भनिएको थियो, आर्थिक अनलाईनलाई पनि त्यही भनियो । यो रेडिमेड उत्तर रहेछ, जसले सोधे पनि त्यही भन्ने ।
बैंकबाट स्पष्ट जवाफ नआए पछि यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलालाई सोध्ने प्रयास गरियो । उहाँलाई समेत लक्ष्मी बैंकको अध्यक्षको नाम जानकारीमा रहेनछ । उक्त लक्ष्मी बैंकमा अध्यक्ष नरहेको बारेमा जिज्ञासा राख्दा उनले अध्यक्ष विना कुनै पनि कम्पनी हुनै नसक्ने बताए । नाम थाहा नभए पनि अध्यक्ष चाँही हुनुपर्ने नै जिकिर गरे ।
यसबारेमा प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहसँग एसएमएसमा सम्पर्क हुदा आफू बोल्न चाहेनन् र कम्पनी सचिवलाई कुरा गर्न भने । कम्पनी सचिब पियुषराज अर्यालले उमेर हदका कारणले अध्यक्ष आचार्यले बैंकको अध्यक्ष छाडेको बताए र बैंक अध्यक्षबिहीन रहेको जानकारी दिए । सचिव अर्यालले ७० बर्षभन्दा बढी उमेरको ब्यक्ति बैंकको सञ्चालकमा रहन नपाउने राष्ट्र बैंकको नियमले ७४ बर्षका आफ्ना अध्यक्षले बिदा लिएको बताए । बैंकको साधारणसभा पछि चयन हुने बताए । यद्यपी रिक्त एक सञ्चालक भने चयन गर्ने बोर्ड बैठकको बारेमा भने उनले अनविज्ञता प्रकट गरे ।
हाल बैंक बैठकको अध्यक्ष सञ्चालक रमण नेपालले गर्दै आएको बताए । तर सचिव अर्यालले कति उनको अध्यक्षतामा एउटा/दुईवटा बैठक बसेको बताए । बैठक समेत यतिवटा नभनेका कम्पनी सचिव अर्यालले बैंकका सेयरधनीसमेत १३/१४ हजार जति रहेको अस्पष्ट तथ्यांक बताए । यसले बैंक अलिक अपारदर्शी रहेको छ कि भन्ने आशंका गरिएको छ । बैंकको यो अपारदर्शीतासँगै सेयरधनी तथा निक्षेपकर्ताहरुले आफ्नो लगानीको समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।
बैंकको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन र बैंकिङ्ग कारोबार होसियारीपूर्वक सञ्चालन गर्न बैंकमा सन्चालक समिति गठन गरिएको हुन्छ । सन्चालक समितिले निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण शेयरधनीको हितमा बैंक सञ्चालनको नीति तय गर्छ । साथै बैंकमा उपयुक्त संस्थागत सुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गरी लागू गर्ने काम पनि सन्चालक समितिको हुन्छ ।

आफ्नो बैंकले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, काम कारबाहीको नियमित अनुगमन गरी बैंकलाई व्यवस्थित र विवेकशील तबरबाट सञ्चालन गराउने काम पनि सन्चालक समितिको हो । यति महत्वपूर्ण उद्देश्य तथा लक्ष्य लिएको बैंक सन्चालन समितिको नेत्तृत्व अध्यक्षले गर्छ । अध्यक्ष नहुदा माथि उल्लेखित सबै काम लथालिङ्ग हुन्छन् । सबभन्दा ठूलो कुरा त बैंकको कारोबारमा जोखिम उत्पन्न हुन्छ ।
बैंकले परिस्थिति अनुसार तत्कालै निर्णय लिनुपर्ने हुन्छ । तत्काल निर्णय लिन नसक्दाको परिणाम अकल्पनीय हुन सक्छ । यसका लागि सन्चालकमध्येबाट नेत्तृत्व गर्न सक्षम र योग्य ब्यक्ति अध्यक्ष चुनिएको हुन्छ र उसैको अध्यक्षतामा बैठक बसी बैंकले आवश्यक निर्णय लिन्छ ।
बैकमा सीईओले दीर्घकालीन वा अल्पकालीन नीति तथा योजना बनाउँदैन । उसले सन्चालक समितिले बनाएको नीति, योजनालाई प्रभाबकारी कार्यान्वयन गर्ने मात्र हो । बैंक तथा बित्तीय सस्थासम्बन्धी ऐन ०७३ ले बैंकको सन्चालक समितिको प्रष्ट ब्यबस्था गरी समितिकोे बर्षमा कम्तिमा १२ ओटा बैठक बस्नु पर्ने प्राबधान गरेको छ । यसको अर्थ महिनामा कम्तिमा एक पटक सन्चालक समितिको बैठक बस्नु पर्छ भन्ने हो ।
बैठकको अध्यक्षता अध्यक्षले गर्नुपर्ने प्राबधान छ । अध्यक्षको अनुपस्थितिमा अल्पकालीन ब्यबस्था त छ, तर त्यसले बैंकको समग्र नीति निर्माणमा असर पुग्ने कल्पना गरिएको प्रष्ट संकेत गरिएको छ । तर लामो समय वितिसक्दा पनि उनको स्थानमा अर्को अध्यक्ष चयन नगर्नुमा अन्य सन्चालकको लुकेको स्वार्थ पक्कै छ । तर कसैको स्वार्थमा बैंक सन्चालन गरिनु निकै दुर्भाग्यपूर्ण अबस्था भएको शेयरधनीहरु बताउँछन् । बैंकको यही पुस ६ गते साधारणसभाको तय गरिएको छ । यस साधारणसभाले अध्यक्ष चयन गरेमा शेयरधनीले शान्तिको सास फेर्नेछन । त्यसको प्रतिक्षामा सेयरधनीहरू रहेका छन् ।