ई–आर्थिक, काठमाडौं । निर्बाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभाका एक तिहाई सदस्यको निर्बाचनका लागि निर्बाचन कार्यक्रम सार्बजनिक गरेको छ । जसअनुसार आगामीे पुस १७ गते मतदाता नामावली प्रकाशित हुने छ । त्यस्तै २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ ।
स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ । राष्ट्रियसभाका एक तिहाई सदस्यहरुको दुई वर्षे कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । कार्यकाल समाप्त हुनेमा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसद रहेका छन् । पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन हुनुपर्ने संबैधानिक ब्यबस्था अनुसार माघ ९ मा निर्बाचन हुन लागेको हो ।
पदमुक्त हुनेहरुमा नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् । त्यसैगरी कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको छन् ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।