ई–आर्थिक, काठमाडौं । पैसा भन्दा प्याज प्यारो ! सुन्दा अचम्म लाग्न सक्छ । तर एउटा घटनाले उक्त कुरालाई प्रमाणित गरिदिएको छ । घट्ना पश्चिम बंगाल हल्दियाको हो । यतिवेला प्याजको बजार मूल्य आकासिएको छ र अभाव पनि छ, त्यही भएर होला चोरलाई पैसा भन्दा प्याज प्यारो लागेको हो ।
नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २३० रुपैयाँ पुगेको छ । प्याजको मूल्य नेपालमा मात्र होइन छिमेकी देश भारत र बंगलादेशमा पनि आकाशिएको छ । अत्याधिक मूल्य बढेको अवस्थामा चोरले समेत पैसा छाडेर प्याज चोरी गरेका नवभारत टाइम्सले जानकारी दिएको छ ।
उक्त स्थानमा एक पसल फोरेर नै प्याजको चोरी भएको थियो । बिहान हेर्दा पसलमा राखिएको पैसा जस्ताको तस्तै थियो तर चोरले प्याज, लसुन र अदुवा चोरेर भागेका थिए । प्याजको मूल्य १०० रुपैयाँ पुगेपछि ती पसलेले अझै मूल्य बढ्दा महंगोमा बेचेर नाफा कमाउने भन्दै प्याज लुकाएका थिए । तर, चोरले त्यही लुकाएको प्याज चोरिदिएपछि उनको होश उडेको छ ।
अक्षय दास नामका ती व्यापारीका अनुसार चोरी भएको प्याजको मूल्य करिब ३८ हजार रुपैयाँ तथा अदुवा र लसुनको मूल्य १२ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँ बराबरको चोरी भएको छ । उनका अनुसार पसलमा पैसा पनि थियो तर चोरहरुले पैसालाई जस्ताको तस्तै छाडेर गएका नवभारत टाइम्सले लेखेको छ ।