‘राष्ट्र बैंकको अन्तिम स्वीकृतीसँगै मर्जरको अन्तिम तयारीमा रहेका छौं । मंसिर भित्रै एकिकृत कारोबार सुरू गर्नेछौं ।’ चन्द्रप्रसाद ढकाल, अध्यक्ष ग्लोबल आईएमई बैंक
ई–आर्थिक, काठमाडौं । ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले उक्त स्वीकृती दिएको हो ।
यो स्वीकृतीसँग यी दुई बैंकले मंसिरभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । ‘दुई बैंकको एकिकृत कारोबार अब चाँडै नै सुरू हुन्छ ।’ ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने– ‘एकिकृत कारोबारको अन्तिम तयारीमा रहेका छौं ।’
यी दुई बैंक मर्ज भए पछि ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ । मर्जरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ ।
हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले १२.७५ प्रतिशत बोनस शेयर दिँदैछ, जसपश्चात् चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख छ हजार ७९० रुपैयाँ पुग्ने छ । त्यस्तै जनता बैंकको चुक्ता पुँजी ८ अर्ब सात लाख ८५ हजार आठ सय रुपैयाँ चुक्तापुँजी रहेको । जनता बैंकले ६ प्रतिशत प्रतिशत बोनस शेयर दिएर ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउँदैछ ।
मर्जरसँगै बैंकको शाखा संख्या ३ सय नाघ्ने छ भने शाखारहित २४५ र एक्सटेन्सन काउन्टरको संख्या ३३ पुग्ने छ । त्यस्तै एटीएमको संख्या २६० पुग्ने भएको छ । त्यसैगरी कर्मचारीको संख्या ३ हजार २ सय भन्दा बढी पुग्नेछ ।